
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरूले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नीतिगत भए पनि वा नभए पनि कसैले पनि जनता र देश हितविपरीत काम गर्न नहुने बताए ।
उनले मन्त्रिपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने उल्लेख गरे । जनता र देश हितविपरीत काम गर्नेहरू सबैलाई कारबाही गर्नुपर्ने धारणा राखे ।
"नेताहरूले सत्ताको राप र तापमा मुलुक तथा जनतालाई घाटा हुने काम कसैले गर्नु हुँदैन । अब माधव नेपालजी पर्नुभयो । यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन् । नीतिगत होस् वा बाहिर रहेर होस्," उनले भने, "मन्त्रिपरिषद्को निर्णयमा जे पनि गर्न पाइन्छ ? मुलुक र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ ? व्यक्ति त आउँदै जाँदै गर्छ । मुलुक त रही रहन्छ । कारबाही सबैलाई हुनुपर्छ । मुलुकलाई घाटा हुने काम गर्ने सबैलाई कारबाही हुनुपर्छ ।"
सांसद भण्डारीले नेपालका कुनै पनि नेताहरूले संवैधानिक निकायमा आफ्ना व्यक्ति खोज्ने काम गर्न नहुने बताए ।