site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपक्षी दललाई ओलीको चेतावनी– अब ज्यादती सह्य हुँदैन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरूको ज्यादती अब सह्य नहुने चेतावनी दिएका छन् । सोमबार (जेठ १९) नयाँ बानेश्वरमा संसदीय दलको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको टिप्पणी गरे । गृहमन्त्रीविरुद्ध कुनै तथ्य, प्रमाण नभएको र एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोधेका भरमा राजीनामा मागेर संसद् बैठक अवरुद्ध गर्न नहुनेमा उनले जोड दिए ।

Argakhachi Cement Island Ad

“अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामा ? केही तथ्य, केही प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्छ । केहीले छोएको छैन, केही भएको छैन,” उनले भने, “एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा, के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन ।”

उनले गृहमन्त्रीमाथि रिस उठेका भरमा मागेर राजीनामा नआउने बताए । “त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्री, त्यसकारण राजीनामा गर्नुपर्छ– यस्ता कुराले संसद् अवरोध हुँदैन । म स्पष्ट भन्न चाहन्छु,” उनले भने ।

उनले अगाडि भने, “तपाईंहरू मेन्टल्ली तयार भएर बस्नुस् । यसरी संसद् अवरोध हुँदैन । यसरी संसद् अवरोध चल्दैन यो । जहिले पनि संसद् अवरोध, जहिले पनि संसद् अवरोध ! दुईजना उठ्यो, करायो, हल्ला गर्‍यो, संसद् अवरोध ? संसद् अवरोध त्यसरी हुन सक्दैन । उहाँहरू कराउनुहोला, तर संसद् अघि बढाउनुपर्छ । धेरै भयो, उहाँहरूको ज्यादती पनि धेरै भयो । अत्ति नै भयो ।”

प्रधानमन्त्री ओलीले विपक्षी दलले संसद् र सडकमा वितण्डा गरेको बताए । “उहाँहरूलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्ने भएको छ । त्यहाँ पनि बाटो जाम गर्ने भएको छ । अनि, जो बोल्छ, जसले अलिकति कुरा गर्दछ, कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छ । कोही माइतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन् ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्