
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
आइतबार (जेठ १८) नक्सालस्थित नारायणचौरमा राजावादी प्रदर्शनमा उनी सहभागी भएका थिए । प्रहरी ‘ब्यारिकेड’ पन्छाएर उनी अघि बढ्न खोजेका थिए । उनी त्यहाँबाट स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको बालुवाटारतर्फ जान खोजेका थिए । त्यसक्रममा थापासहित ६ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको एसपी अपीलराज बोहराले जानकारी दिए ।
प्रदर्शनकारी बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । थापा पूर्वउपप्रधान एवं गृहमन्त्री समेत हुन् ।
उनीसहित ललितपुरको जावलाखेलकी ६२ वर्षीया शीला राणा, भक्तपुरको ठिमीका ३२ वर्षीय राकेश बस्नेत, काठमाडौंको सामाखुसीमा बस्दै आएका नुवाकोटका ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का विनोद कपाली र भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमल्सिनालाई हिरासतमा राखिएको एसपी बोहराले जानकारी दिए ।
प्रहरीका अनुसार, उनीहरूमध्ये बस्नेत, कपाली र लामिछाने व्यवसायी हुन् । तिमल्सिना राष्ट्रिय युवा मोर्चा नेपालका सदस्य हुन् ।
“उहाँहरू (राजावादी)को आन्दोलन सकिएको छैन । छोड्ने वा हिरासतमै राख्ने भन्नेबारे केही भएको छैन । उहाँहरूको आन्दोलन सकिएपछि केही आऊला,” उनले बाह्रखरीसित भने ।