site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी नेताले भने– पुष्पकमल दाहाल सामन्तीले दिएको नाम हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक सुरेश आलेमगरले पार्टी अध्यक्षको नाम 'प्रचण्ड'मात्रै भन्न प्रस्ताव गरेका छन् । आइतबार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले 'श्रद्धेय' शब्द सामन्तीको भएको टिप्पणी गरे ।

“मैले अघि आदरणीय कमरेड प्रचण्ड भनेँ । श्रद्धेय भनिनँ, पुष्पकमल दाहाल पनि भनिनँ । किनभने श्रद्धेय, श्रद्धा, पूजा, आरती सामन्ती शब्द हुन्,” उनले भने, “हामीलाई सम्मान गर्न मन लाग्छ, अति सम्माननीय भन्न सक्छौँ । आदरणीय भन्न सक्छौँ ।”

Argakhachi Cement Island Ad

उनले पुष्पकमल दाहाल प्रतिगामीले दिएको र उनीहरूले नै रुचाउने नाम भएको दाबी गरे । तर, आफूहरूलाई प्रचण्ड प्यारो लाग्ने उनले सुनाए ।

“हामी उत्पीडित जनतालाई प्रचण्ड नाम नै प्यारो लाग्छ । प्रचण्ड नाम नै गर्विलो लाग्छ । पुष्पकमल दाहाल प्रतिगामीले दिएको नाम हो, रुचाउने नाम हो । प्रचण्ड होइन,” उनले भने, “हामीले रुचाउने नाम हो, प्रचण्ड ।”

उनले पार्टीका कार्यक्रममा पुष्पकमल दाहाल नभन्ने प्रस्तावसमेत गरे । “हाम्रो कार्यक्रममा पुष्पकमल दाहाल नभनौँ, मेरो सानो प्रस्ताव छ,” मगरले भने । 

उनले त्यसोभन्दा हलमा सिठीसहितको होहल्ला भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्