
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूको आन्दोलनमा हालको जस्तै जनसमर्थन कायम रहे सरकारलाई झुक्न बाध्य बनाउने बताएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले गरेको प्रदर्शनको तेस्रो दिन शनिबार (जेठ १७) काठमाडौंमा सञ्चारकर्मीसँग उनले यसका पक्षमा जनताको साथ प्राप्त भएको जिकिर गरे ।
राजावादीले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको भन्ने नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति लिङदेनले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उनैलाई परेको प्रतिक्रिया दिए । प्रचण्ड गणतन्त्रको संस्थापक भएकाले पीर परेको बेला बोलेका कुरालाई अन्यथा नमान्ने उनको भनाइ थियो ।
“उहाँको नेतृत्वमा गणतन्त्रको मुद्दा नेपालमा उठेको हो । त्यसकारणले गणतन्त्र हल्ँिलदाखेरि सबभन्दा ठूलो पीर उहाँ पर्नु स्वाभाविक हो,” उनले भने, “त्यसकारणले त्यो पीर परेको बेला केके बर्बराउने, केके भन्ने त्यस्तो कुराहरू आउनुलाई मैले अन्यथा मान्दिनँ ।”
गणतन्त्रको पक्षमा प्रदर्शन गर्न प्रचण्डले टाढाटाढाबाट मान्छे बोकेर ल्याएको र पार्टी प्यालेसमा भोज खुवाएको अनुभव सुनाएको समेत उनले उल्लेख गरे ।
लोकतन्त्रका नाममा देशमा लुटतन्त्र मच्याइएको भन्दै उनले यसलाई अन्त्य गरेरै छाड्ने बताए । उनले हिजोका दिनमा राजसंस्था र दलहरूबाट भएका कमी–कमजोरीलाई सुधार गर्दै राजा र गणतन्त्रवादी अटाउने मौलिक व्यवस्थाका साथ मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखे ।
राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको माग गर्दै उनीहरूले शनिबार काठमाडौंको शान्टिवाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरे । दरबारमार्गमा प्रदर्शन गर्ने राजावादीको पूर्वनिर्धारित योजना रहँदा प्रशासनले त्यसलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । सोही कारण उनीहरूले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनका क्रममा अभद्र व्यवहार गरेको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादीले आइतबार (जेठ १८) काठमाडौंको नारायणचौर क्षेत्रमा प्रदर्शन गर्ने जनाइएको छ । हिमालयन टेली भ्वाइस