
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विभिन्न देशबाट आयात गर्ने सामानहरूमा आयात कर लगाइरहन पाउने त्यहाँको एक पुनरावेदन अदालतले फैसला गरेको छ ।
यसले अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले गरेको फैसला पुनरावेदन अदालतले उल्टाएको हो । एक दिनअघि अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्प प्रशासनले लगाएको विश्वव्यापी आयात कर (ट्यारिफ)हरूलाई अवैध ठहर्याएको थियो ।
एक संघीय पुनरावेदन कोर्टले ह्वाइट हाउसको अनुरोधलाई स्वीकार गर्दै तल्लो अदालतको आदेशलाई अस्थायी रूपमा निलम्बन गरेको छ । यसअघि तल्लो अदालतले ट्रम्पले अन्तर्राष्ट्रिय आयात कर लगाउने निर्णय गरेर आफ्नो अधिकार नाघेको फैसला गरेको थियो ।
बुधबार अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले गरेको निर्णयले ट्रम्प प्रशासनलाई रुष्ट बनाएको थियो । उनीहरूले उक्त फैसलालाई न्यायिक हदबन्दी नाघेर गरेको फैसला भनेका थिए ।
साना व्यवसायहरू र केही राज्यहरूले ट्रम्पले अमेरिकाले विभिन्न देशबाट आयात गर्ने सामानहरूमा आयात कर लगाउने कदमको विरोध गरेका थिए । यो कदम ट्रम्पको आर्थिक र अन्तर्राष्ट्रिय एजेन्डाको केन्द्रमा छ ।
ट्रम्प प्रशासनले आफ्नो पुनरावेदनमा व्यापार अदालतले एक दिनअघि गरेको निर्णयले राष्ट्रपतिको कदमलाई चुनौती दिएको थियो । महिनौंदेखि गरिएको कठिन व्यापार वार्तालाई ध्वस्त पार्ने खतरा रहेको बताएको थियो ।
पुनरावेदन अदालतले ट्यारिफ निलम्बनको निर्णय गर्नुअघि ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प वा जो कोही अन्य राष्ट्रपतिको संवेदनशील कूटनीतिक वा व्यापार वार्ता न्यायाधीशहरूले रोके अमेरिकाले काम गर्न नसक्ने बताएकी थिइन् । बीबीसी