
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् । बिहीबार (जेठ १५) अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद् बैठकमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
“सरकारले आज १९ खर्ब ६४ अबको बजेट जुन पेस गरेको छ, त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने टिप्पणी हाम्रो छ,” उनले भने ।
उनले नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँको अनुमान गरिएको उल्लेख गरे । पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने उनले विश्वास व्यक्त गरे ।
उनले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको समेत बताए ।
सरकारले ल्याएको बजेट उत्ताउलो नभए पनि १६ खर्बभन्दा बढी खर्च हुने आधार नरहेको उपसभापति वाग्लेले टिप्पणी गरे ।
बजेटबारे सांसद स्वर्णिम वाग्लेको टिप्पणी पढ्नोस्–
सरकारले आज १९ खर्ब ६४ अबको बजेट जुन पेस गरेको छ, त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने टिप्पणी हाम्रो छ । पछिल्लो समय राष्ट्रिय योजना आयोगले हाम्रो अर्थतन्त्रको आकार ६१ खर्बको जुन इकोनोमी प्रोजेक्ट गरेको छ, त्यसलाई पाँच प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको मुद्रास्फीति जोडेर साढे ११ प्रतिशतको वद्धि गर्ने हो भने यो बजेटको समापन हुँदासम्म ६७ खर्बको नेपाल सरकारको अर्थतन्त्र हुन्छ । त्यसैले अर्थमन्त्रीज्यूले जुन पेस गर्नुभएको बजेटलाई हामीले धेरै गैरजिम्मेवार मानेका छैनौँ । यद्यपि, भूकम्पपछि उकालो उकालो लागेर ठूलो आकारमा बजेट फुक्ने अनि मागमा गएर सुकाउने पुरानो रोगको सिकार हुन्छ कि भन्ने चिन्ताचाहिँ हामीलाई छ । न्युज एजेन्सी नेपाल