
लस एन्जलस, अमेरिका । अमेरिकाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्यले लस एन्जलसमा अर्को सफल प्रस्तुति दिएको छ । एनहायमस्थित ‘हाउस अफ ब्लुज’ हलमा स्थानीय समयअनुसार सोमबार बेलुकी ८ बजे सुरु भएको कन्सर्टमा ब्यान्डले लगातार दुई घण्टासम्म श्रोता तथा दर्शकलाई नचाएको थियो ।
“नेपालको परम्परागत आवाजलाई नेपथ्यले आधुनिक धुनहरूमा परिणत गरेर यहाँसम्म ल्याइपुर्याउनु हामीजस्ता श्रोताका लागि आफैँमा मिठो कोसेली हो,” कन्सर्ट हेर्न सान डिएगो सहरदेखि आएका अजय मल्लले भने, “क्यालिफोर्नियाको मुटुमा व्यावसायिक परिपक्वतासहित यसस्तरको उपस्थिति जनाउने नेपाली ब्यान्डको प्रयास यहाँका नेपालीकै निम्ति गौरवको विषय हो ।”
नेपथ्यले अमेरिकाको यात्रा गर्दा वैभवशाली राज्य क्यालिफोर्निया प्रायः छुट्ने गरेको छैन । गत वर्ष मात्र पनि डेढ महिना लामो प्रस्तुतिका क्रममा सानफ्रान्सिस्कोमा ब्यान्ड प्रस्तुत भएको थियो । तर, विश्वकै अग्रणी सिने उद्योग हलिउड अटाएको र जनसंख्याका हिसाबले क्यालिफोर्नियाकै ठूलो सहर लस एन्जलसमा भने नेपथ्यको यो दोस्रो प्रस्तुति हो । यसअघि सन् २०१६ मा ब्यान्ड यहाँ प्रस्तुत भएको थियो ।
हलको ढोका खुल्नासाथ अर्थात् शो सुरु हुनुभन्दा एक घण्टा अगावैदेखि बाहिर र भित्र दुवैतिर दर्शकको उपस्थितिले रोचक माहोल तयार गरिसकेको थियो ।
“हलभित्र ननाच्ने मानिस भेट्न मुस्किल पथ्र्यो,” शो हेर्नकै निम्ति निकै पर एरिजोना राज्यको फिनिक्सदेखि आएका मिलन श्रेष्ठ भनिरहेका थिए, “यसमा बज्दै गरेको संगीत मात्र नभएर फरक–फरक पुस्तालाई बाँध्दै आएको नेपथ्यको लामो इतिहास, नेपाल र नेपालीप्रतिको माया अनि मञ्चबाटै विगतदेखि आगतसम्म बाँध्न सक्ने केवल अमृत गुरुङमा अटाएको क्षमताले पनि उत्तिकै साथ दिएको थियो ।”
सदाझैँ लस एन्जलसमा पनि गायक अमृत गुरुङले गीतहरू मात्र नगाई ती गीतहरूको उद्गम विन्दु पहिल्याउँदाको प्रसंग सुनाए अनि त्यस्ता स्थानको सुन्दरताको बयान गर्दै स्वदेश घुम्न दर्शकलाई प्रेरित गरे ।
कन्सर्टमा दर्शक पनि अत्यन्तै फरक उमेर समूह र पृष्ठभूमिका देखिन्थे । तिनैमध्येका एक थिए संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम ।
“क्यालिफोर्नियामा नेपथ्यको कन्सर्ट हेर्नुका साथै यसका प्रेरक अगुवा अमृत गुरुङ अनि उनको प्रतिभाशाली समूहसँग भेट गर्नु आज रातिको उत्साहजनक अनुभव रह्यो,” गौतमले कन्सर्टबाट फर्किएपछि आफ्नो एक्स (ट्विटर)मा उल्लेख गरेका छन्, “उनीहरूको प्रस्तुतिमा सधैँजस्तै प्रवासी नेपालीमाझ देशप्रेम जगाउने, उत्साह अभिवृद्धि गर्ने र शान्ति अनि सद्भावनाको विश्वव्यापी आवाजलाई बुलन्द पार्ने अवयव भरिएको पाएँ ।”
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेकी पौडी खेलाडी सोफिया शाह पनि कन्सर्टमा उपस्थित थिइन् ।
कन्सर्टको सुरुआत ‘कोसीको पानी’बाट भएको थियो भने नेपथ्यका सर्वकालीक लोकरकसँगै अन्तिममा नेपाली झण्डाको स्तुतिमा आधारित ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो । कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नेपथ्यको गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाइएको नेपथ्यले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
व्यवस्थापन, प्राविधिक र कलाकार समेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ ।