
काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतले अन्यौलमा रहेको एमसीसी परियोजना अगाडि बढाउन लागिपरेको बताएका छन् । ऊर्जामन्त्री दीपक खड्कासँगको भेटमा अमेरिकी राजदूत डिन आर थम्पसनले एमसीसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको बताएका हुन् ।
राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए ।
ऊर्जामन्त्री खड्काले एमसीसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन आग्रह गरेका थिए । खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसीसी केही समयदेखि होल्ड भएकाले अन्यौल सिर्जना गरेको बताए ।
एमसीसीअन्तर्गत सञ्चालित एमसीए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारणलाइन र सम्बद्ध सबस्टेसन निर्माण हुनेछन् ।