
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् ।
उनले विश्वको अर्थतन्त्र जुन रूपमा अघि बढेको छ त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए । बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे । “बैंक भनेको त अर्थतन्त्रको इन्जिन हो । बैंकको काम भनेकै के गर्यो भने अर्थतन्त्र चलायमान हुन्छ । आज यस्ता बैंकहरू पनि छन् जुन बैंकमा राम्रो स्वामित्व भएका मानिसहरू बोर्डमै बस्दैनन् । व्यावसायिक मानिसहरू राखेर चलाइरहेका छन् र ती बैंकहरू अब्बल ढंगले चलिरहेका छन् । जुन बैंकमा कुनै निजी क्षेत्रका व्यापारीको पुँजी छैन तर सबैभन्दा भ्रष्ट बैंकहरू पनि तिनै छन्,” उनले भने ।
सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गरे । “आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरूको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ,” उनले भने ।
उनले विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरू जन्माउन सरकारले ल्याएका कुनै पनि योजना सफल हुन नसकेको बताए । न्युज एजेन्सी नेपाल