
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका निम्ति आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा आफूहरू अगाडि बढिरहेको बताएका छन् । सोमबार (जेठ १२) ललितपुरमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) समायोजन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको उनले उल्लेख गरे । उनले गम्भीर ढंगले समाजवादी क्रान्तिको तयारीमा आफूहरूले लागिरहेको जिकिर गरे ।
०६४ सालको निर्वाचनमा प्राप्त अभिमत जोगाउन नसक्दा पार्टी विभाजन भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति भएको उनले बताए । उनले उक्त विभाजनले सहिद र बेपत्ता योद्धाको सपना नराम्रोसँग तरंगित भएको धारणा राखे ।
“०६४ को निर्वाचनमा हामीले प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौँ, पार्टी विभाजित भयो,” उनले भने, “त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताको लागि निकै ठूलो क्षति भयो । हाम्रा महान् सहित र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरंगित भए ।”
संविधान घोषणापछि फेरि एकताको प्रक्रिया सुरु भएको र आफूहरू सबै त्यसमा अगाडि बढिरहेको उनको भनाइ थियो ।
समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर हुने उनले विश्वास व्यक्त गरे ।
उनले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो सुरुआत भएको बताए । न्युज एजेन्सी नेपाल