
काठमाडाैं । नुवाकोटको बट्टारमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ । विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’को औपचारिक उद्घाटन गरिएको छ ।
विभिन्न कारणले बन्द भएका सिनेमा हललाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको कार्यक्रमअन्तर्गत बट्टारमा निर्माण भएको यो हल सञ्चालनमा आएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हलको उद्घाटन गरेका हुन् ।
२४० सिट क्षमताको शिवालय सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी र पासाङ लामा गोपालको संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको बोर्डले जनाएको छ ।
सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्च स्तरीय ध्वनि, वातानुकूलित हल, आरामदायी सिटहरू तथा अनलाइन बुकिङ सुविधा उपलब्ध रहेकाे प्रेस नोटमा उल्लेख छ । प्रत्येक शनिबार चार र अन्य दिनमा तीन शो प्रदर्शन गरिने बताइएको छ ।