
काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदनमा सुनुवाइ जारी छ । गत मंगलबारदेखि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ ।
बिहीबारसम्म रवि र छवि पक्षका साथै सरकारी वकिलको बहस सकिएको थियो । आज जाहेरवालाका वकिलले बहस थालेका छन् । सुरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरिरहेका छन् ।
मंगलबार रविका तर्फबाट १० वकिलले बहस गरेका थिए । अन्तिममा रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे पनि रोकिएपछि बिहीबार पुनः भएको हो । बुधबार संवैधानिक इजलासका कारण पेसी राखिएको थिएन ।
बिहीबार रविका वकिलको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चारजनाले बहस गरे । अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, त्रिपाठीसहित तीन जनाले बहस गर्ने जानकारी इजलासमा गराइएको छ ।
जाहेरवालाको बहस सकिएपछि रविका वकिलले जवाफी बहस गर्ने उनका कानुन व्यवसायीनारायण कँडेलले जानकारी दिए । उनले चिया समयअघि नै बहस सकिने भएकाले आदेश पनि चाँडै आउने अपेक्षा गरिएको बताए ।