
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी संसदीय छानबिन उपसमितिको प्रतिवेदनमाथि पूर्वसञ्चारमन्त्री तथा सांसद गोकुल बास्कोटाले आफ्नो पूरक मतसहित प्रतिक्रिया दिएका छन् । उनले प्रतिवेदनले केही महत्त्वपूर्ण पक्ष उठाए पनि आवश्यक गहिराइमा पुग्न नसकेको टिप्पणी गरेका छन् ।
“यो प्रतिवेदनमा मेरो पूरक मत छ,” उनले भने, “प्रतिवेदनमा अनियमितता भएको देखिन्छ, तर छानबिन के पत्ता लगाउने भनेर होइन, के–के भएको छ भनेर स्पष्ट गर्नुपर्थ्यो ।”
महालेखा परीक्षकले बेरुजु देखाएर असुलउपर गर्न भनेको छ भने त्यसको पालना गर्नैपर्ने सांसद बास्कोटाले बता । उनले परियोजना सुरु भएको सन् २०१४ देखि नै अध्ययन गरिएको भए अझ सुस्पष्ट निष्कर्ष आउने धारणा राखे ।
“२०१४ देखिकै सम्झौताहरू, कार्यान्वयन प्रक्रिया, चाबी हस्तान्तरण, ह्यान्डओभर कसरी भयो भन्ने सबै विषयको समग्र अध्ययन आवश्यक थियो,” उनले भने, “पूरा नहुँदै सरकारले आयोजना किन र कसरी बुझेको भन्ने प्रश्न अझै खुला छ ।”
उनले संसद्मा लिखित प्रश्न उठाउने काम गरिनुपर्नेमा पनि ध्यान नदिएको बताए । “हामीले लिखित रूपमा प्रश्न उठाउन सक्थ्यौँ, त्यो भएन,” उनले भने ।्
सांसद बास्कोटाले उपसमितिले प्रतिवेदन तयार गर्न प्रयास गरेकोमा धन्यवाद दिँदै भने, “म कसैलाई डाम्नैपर्छ भन्ने पक्षमा छैन । तर प्रक्रिया र तथ्यका आधारमा गहिरो विश्लेषण हुनुपर्छ ।”
उनले अझै केही सामग्री लुकेको जस्तो देखिएको उल्लेख गर्दै भने, “समितिलाई आवश्यक लागेमा म ती विवरण दिन तयार छु ।”
उनले यस विषयलाई राजनीतिक लाभका लागि प्रयोग नगरियोस् भन्ने चेतावनी दिए । भने, “यो राजनीतिको रोटी सेकाउने विषय होइन, राष्ट्रिय परियोजनाको जिम्मेवार समीक्षा गर्नुपर्ने समय हो ।”