
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दुई एसियाली देश म्यानमार र भियतनामका आप्रवासीलाई उनीहरूको देशमा फिर्ता (डिपोर्ट) नगरेर दक्षिण सुडान पठाएको छ । आप्रवासन वकिलहरूले अमेरिकी अदालतलाई यसबारे बताएका छन् ।
अमेरिकाको बोस्टनमा रहेको एक संघीय न्यायाधीशलाई लेखेको पत्रमा, वकिलहरूले म्यानमार र भियतनामका नागरिकहरूसहित एक दर्जनभन्दा बढी व्यक्तिहरू लिएको एक उडान मंगलबार दक्षिण सुडान पुगेको बताएका छन् ।
दक्षिण सुडान विश्वको सबैभन्दा गरिब देशहरू मध्ये एक हो । यो देश संघर्ष र राजनीतिकरूपमा अस्थिर छ ।
नेशनल इमिग्रेसन लिटिगेसन एलायन्सका वकिलहरूले मंगलबार संघीय न्यायाधीशलाई निष्कासन रोक्न आपतकालीन आदेश दिन माग गरेका थिए ।
अघिल्लो एक अदालती आदेशले अमेरिकी सरकारलाई आप्रवासीहरूलाई तेस्रो देशमा पठाउँन नपाउने र त्यसविरुद्ध कानुनी चुनौती दिन पाउने भनेका थियो ।
न्यायाधीश ब्रायन मर्फीले १८ अप्रिलमा एक फैसला जारी गरेका थिए । फैसलामा अवैध प्रवासीहरूलाई आफ्नो मातृभूमिभन्दा अन्य देशहरूमा निष्कासन गर्दा यसविरुद्ध चुनौती दिने अवसर दिनुपर्छ भन्ने उल्लेख थियो ।
केही आप्रवासीहरूलाई लिबिया पठाउन लागेको खबर सार्वजनिक भएपछि पूर्व राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त न्यायाधीश मर्फीले यस्तो कार्य उनको फैसलालाई उल्लंघन गर्ने बताएका थिए । बीबीसी