site stats
बाह्रखरी :: Baahrakhari
खेल
बायर्नमा मुलर युगको अन्त्य : साधारण शैली, उत्कृष्ट नतिजा

काठमाडौं । “जब म सबैभन्दा धेरै के सम्झिने छु भन्नेबारे सोच्छु । पक्कै पनि यस्तो रंगशालामा गोल गरेको अनुभव हुनेछ । यहाँ गोल गर्नुको अनुभव वर्णन नै गर्न नसकिने छ । यस्तो अनुभव अरु कतै पाउन सक्दिनँ,” एलियन्ज रंगशालामा घरेलु समर्थकमाझ बिदाइ लिँदै गर्दा बायर्न म्युनिखका लेजेन्ड थोमस मुलरले पोखेका भावना हो यो ।

जर्मनीमा थोमस मुलरको नाम भेट्टाउन मुस्किल छैन । बायर्न म्युनिखका चार लाख सदस्यमध्ये ९० जना थोमस मुलर छन् । २५ वर्ष एक क्लबमै बिताउँदा मुलरले कमाएका विशिष्ट उपलब्धिमध्येको एक हो यो । 

फ्रान्ज बेकेनबाउर, गर्ड मुलर, सेप माएर, उली मोइनेब, कार्ल–हेन्ज रुमेनिगसँगै बार्यनको लेजेन्डको सूचीमा छुट्याउन नहुने र नसकिने नाम हो, थोमस मुलर ।

उनै मुलरले शनिबार राति बायर्नबाट अन्तिम खेल खेले । बायर्न त्यही क्लब हो, जहाँ मुलरले आफ्नो करियरको ११ वर्षदेखि ३५ वर्षसम्मको अवधिसम्म खेले । 

mular-(4)-1747653054.pngबायर्नमा मुलरका उपलब्धि
गत वर्ष सेप्टेम्बरमै मुलरले बायर्नबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाएका थिए । उनी बायर्नबाट ७५० खेलको कोसेढुंगा पार गर्ने पहिलो खेलाडी हुन् र हालसम्मको एक मात्र पनि ।

किशोर उमेरदेखिको क्लबबाट मुलरले दुईपटक च्याम्पियन्स लिग, १३ पटक बुन्डेसलिगा, दुईपटक क्लब विश्वकप र थुप्रै अरु घरेलु उपाधि चुमेका छन् । सन् २०१४ को फिफा विश्वकपको उपाधिले मुलरलाई जर्मनीबाट सबैभन्दा धेरै उपाधि जित्नेमा राष्ट्रिय टिमका सहकर्मी टोनी क्रुससँगै राखेको छ । घरेलु लिगको सन्दर्भमा मुलर युरोपमै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन् । यो सूचीमा मुलरसँगै रहेका र्‍यान गिग्सले पनि १३ पटक नै घरेलु लिगको उपाधि जितेका छन् ।

‘मिडफिल्डर’को पहिचान बनाए पनि मुलरले असाधारण गोल गर्ने क्षमता प्रस्तुत गरेका छन् । बायर्नको सिनियर टिमबाट १७ वर्ष खेल्दा उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनीअघि नामेसेक गर्ड र रोबर्ट लेवान्डोवस्की मात्रै छन् । यी दुई क्रमशः ५६६ र ३४४ गोलसहित २४८ गोल गरेका मुलरभन्दा अघि छन् । असिस्टमा मुलरभन्दा अघि बायर्नका कुनै पनि खेलाडी छैनन् । मुलरले बायर्नबाट खेलेको सबैखाले प्रतियोगितामा कुल २२२ असिस्ट गरेका छन् । सन् २००८ मा मुलरले ‘डेब्यु’ गरेयता युरोपकै शीर्ष पाँच लिगमा कुनै पनि खेलाडीले गरेको यो सबैभन्दा धेरै असिस्ट संख्या समेत हो ।

mular-(1)-1747653055.png
युरोपेली क्लब फुटबलको सर्वश्रेष्ठ प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा मुलरले कुल १६३ खेल खेलेका छन् । यो प्रतियोगितामा पनि मुलर सबैभन्दा धेरै खेल खेल्ने तेस्रो खेलाडी हुन् । मुलरअघि रहेका क्रिस्टियानो रोनाल्डोले १८३ र इकर कासियासले १७७ खेल खेलेका छन् । मुलरसँगै रहेका लियोनल मेसीले पनि च्याम्पियन्स लिगमा समान १६३ खेल नै खेलेका छन् । 

१६३ खेलमध्ये मुलरले १११ खेलमा जित निकालेका छन् । च्याम्पियन्स लिगमा सबैभन्दा धेरै जितको अनुभव गर्ने सूचीमा पनि मुलर दोस्रो स्थानमा छन् । उनीभन्दा अघि रहेका क्रिस्टियानो रोनाल्डो ११५ खेलमा विजयी भएका छन् । यो शीर्ष युरोपियन प्रतियोगितामा मुलरले ५७ गोल गरेका छन् । जर्मनीबाट च्याम्पियन्स लिगमा मुलरभन्दा धेरै गोल गर्ने अरु खेलाडी छैनन् । सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मुलर छैटौँ स्थानमा छन् ।

mular-(2)-1747653053.png
बायर्न म्युनिखबाट बुन्डेसलिगामा कुल ५०२ खेल खेल्दा मुलरले त्यसमध्ये ३६१ खेलमा जित हासिल गरे । बुन्डेसलिगाको इतिहासमा सबैभन्दा धेरै जितको अनुभव गर्ने खेलाडी समेत मुलर नै हुन् ।

मुलर सबैभन्दा छिटो थिएनन्, न त उनको प्रहार शक्तिशाली नै हुन्थ्यो, तीन पाइलामा विपक्षी खेलाडीलाई ‘ड्रिबल’ गर्न सक्ने कला पनि मुलरमा थिएन । तर, पनि मुलरको ‘ट्रफी क्याबिनेट’ भरिभराउ छ ।

मुलरमा फुटबलर लगाव देखेका पहिलो प्रशिक्षक हर्मन गेराल्ड भन्छन्, “मुलरको करियर यति सानदार हुन्छ भन्ने कसैको अनुमान थिएन । यदि कसैले अघि आएर मलाई थाहा थियो भन्छ भने त्यसले झुट बोलिरहेको छ ।” 

mular-(3)-1747653053.png

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्