site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘महत्त्वाकांक्षी वेग’मा फसेका इच्छाराज, ७३ नम्बरको निवेदनमा सर्वोच्चले दिएन थुनाबाहिर बस्ने आदेश

काठमाडौं । घरजग्गा व्यवसायी इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणमा विशेष अदालतको दुई वर्षअघिको फैसला सर्वोच्चबाट सदर भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले शुक्रबार विशेष अदालतको फैसला सदर गर्दै मुद्दाको अन्तिम किनारा लगाएको हो । 

२०८० माघ २१ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई २०८० माघ ७ गते अदालतले दोषी ठहर गरेको थियो ।

यसैगरी इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध इच्छाराज २०८० माघ २५ गते सर्वोच्च अदालत गएका थिए । त्यसपछि पटक पटक पेसी परे पनि सुनुवाइ हुन सकेको थिएन । मुद्दामा केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो तिर्नुपर्ने फैसला गरेको छ ।

अदालतले इच्छाराज, सृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो । 

ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका इच्छाराजसहित ६ जनाविरुद्ध पाँच अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो । 

जिल्ला अदालत काठमाडौंले तामाङलाई ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।  तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।

यसैगरी पाँच अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

तामाङले सिभिल सहकारीबाट लिएको ऋण व्यक्तिगत सम्पत्ति आर्जनका लागि लगानी, त्यसको विस्तार र व्यक्तिगत आम्दानी बढाउन प्रयोग गरेको अनुसन्धानबाट देखिएको थियो ।

यसैगरी, उनकी श्रीमती र छोरीहरूको नाममा कीर्तिपुर नगरपालिका–१, ट्याङ्लाफाँटामा १५ रोपनी जग्गा फेला परेको छ । त्यहीँभित्र तामाङ आफूले थोरै जग्गा राखेको भेटिएको छ ।

२०७४ सालमा उनले अंशबन्डा गरी त्यो जग्गा श्रीमती, छोरी र आफ्नो नाममा राखेको पाइएको थियो । अनुसन्धानमा उनकी छोरीहरूले सिभिल सहकारीबाट करोडौँ रकम निकालेर कारोबार गरेको देखिएको छ ।

महत्त्वाकांक्षी वेगले इच्छाराजलाई ढाल्यो  

कुनै समय घरजग्गा व्यवसायमा एकछत्र राज गरेका इच्छाराज हाल जेलजीवन बिताइरहेका छन् । घरजग्गा व्यवसायबाट राम्रो कमाइ गरेका इच्छाराजले सिभिल बैंक स्थापना गरेका हुन् । सिभिल बैंक हाल हिमालयन बैंकसँग समाहित भइसकेको छ ।  

इच्छाराजले विभिन्न २१ वटा कम्पनी खडा गरी सहकारीको आठ अर्ब रुपैयाँभन्दा बढी सर्वसाधारणको बचत रकम लगानी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट खुलेको छ । यसमध्ये सिभिल होम्सलगायत तीनवटा कम्पनीमा बढी पैसा लगानी भएको छ ।

इच्छाराजको उदय घरजग्गा व्यवसायबाट भएको हो । विभिन्न अपार्टमेन्ट बनाउँदै बेच्दै गर्दा राम्रो नाफा कमाए । त्यसपछि उनले सिभिल ग्रुपको साम्राज्य खडा गरेका थिए । 

रसियाबाट इन्जिनिरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका इच्छाराजले केही समय पुल्चोक इन्जिनियरिङ कलेजमा अध्यापन गरेका थिए । २०५७ सालमा सिभिल सहकारी स्थापना गरेका हुन् । यसरी सिभिल सबैभन्दा बढी वित्तीय कारोबार गर्ने सहकारी संस्था बनेको थियो । केही समयमै सिभिल वित्तीय संस्था लिमिटेड स्थापना गरेका थिए ।

घरजग्गा व्यवसायमा चम्किएका उनको व्यवसाय कोरोना महामारी फैलिएपछि बिग्रिन थालेको थियो । नगद रकमको अथाव हुन थालेपछि उनले आफू र श्रीमतीको नाममा रहेको सिभिल बैंकको ५० करोड रुपैयाँ बरारबको सेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गरेका थिए । घरजग्गा व्यवसाय समस्यामा परेपछि सिभिल सहकारीबाट लिएको ऋण चुक्ता गर्न नसक्ने अवस्थामा उनी पुगेका थिए ।

सहकारीमा रहेको बचतको ९३ प्रतिशतभन्दा बढी रकम उनले खडा गरेका २१ वटा कम्पनीमा लगानी गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । 

अधिक महत्त्वाकांक्षी भएर क्षमताभन्दा बढी लगानी विस्तार गर्दै गए । अन्तमा त्यही महत्त्वाकांक्षाले उनलाई जेलमा पुर्याएको छ भने अर्बौं रुपैयाँको साम्राज्य ढलेको छ ।

सिभिल सहकारी खोलेपछि उनको नेतृत्वमा ललितपुरको भैँसेपाटीमा २०५८ सालमा पहिलो सिभिल होम्स प्रोजेक्टको सुरुआत भएको थियो ।

नेपालमा व्यवस्थित हाउजिङको सुरुआत उनैले गरेका हुन् । उनले कलंकीमा दोस्रो र त्यसपछि ललितपुरको सुनाकोठीमा तेस्रो योजना ल्याएका थिए । 

सिभिल होम्सको फेज ४ र ५ को हाउजिङ परियोजना ल्याए । अहिले फेज ५ का हाउजिङ र अपार्टमेन्ट अझैसम्म पूर्णरूपमा बिक्री भइसकेका छैनन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्