
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन हीको भेटवार्ता भएको छ । हान नेतृत्वको भ्रमण दलले नेपालमा रेलवेको विकासका विषयमा बुधबार प्रधानमन्त्रीसँग छलफल गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ ।
भेटका अवसरमा ‘स्काई वाक’ कम्पनीले तयार गरेको चतराधाम–चौरीखर्कसम्मको ‘एभरेस्ट रेलवे प्रोजेक्ट’को एनिमेसन–भिडियो प्रस्तुत गरिएको थियो ।
छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सहभागी थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए । यस सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको उनले बताए ।
कर्पोरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग भेट गरेको थियो । उक्त भेटमा रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाई अध्ययन गर्ने विषयमा समझदारी भएको थियो ।