
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा सोमबार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अगामी बजेटबाट निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चाल्ने बताए ।
अर्थमन्त्री पौडेलले विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रलाई उकास्नकै लागि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेको जिकिर गरे ।
"वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्त्वलाई राम्रोसँग बुझ्दछ । त्यही भएर हामीले सरकार बनेपछि निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका समस्या समाधान गर्ने सिलसिलामा केही महत्त्वपूर्ण प्रयास गरेका छौँ । अध्यादेशको माध्यमबाट करिब ३०/३२ वटा कानुन परिवर्तन गरेका छौँ," उनले भने ।
अध्यादेशमार्फत ल्याइएका कानुन कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
"अध्यादेशबाट सुरु भएको कानुन संशोधनको प्रक्रियाले संसद्बाट पूर्णतासमेत प्राप्त गरेको छ । हामी ती संशोधनका प्रबन्धलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक नियमावली र निर्देशिका बनाएर अघि बढ्दै छौँ । आर्थिक सुधारका लागि सरकारले चालेको यो अन्तिम नभई पहिलो कदम हो । हामी सुधारका एकपछि अर्को काम चाल्दै जान्छौँ," उनले भने ।