
काठमाडौं । नेपालले पछिल्लो नौ महिनामा विभिन्न देशबाट तीन करोड २४ लाख ९४ हजार रुपैयाँको टुथपिक आयात गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा नेपालले उक्त रकम बराबरको टुथपिक आयात गरेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार, ०८१ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा ९२ हजार ३२ केजी टुथपिक नेपाल भित्रिएको छ ।
चीन, भारत र अमेरिकाबाट नेपालले टुथपिक आयात गर्ने गरेको छ । नेपालले बितेको नौ महिनामा चीनबाट मात्र तीन करोड २३ लाख ४० हजार रुपैयाँको टुथपिक आयात गरेको विभागको तथ्यांकले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा नेपालले एक करोड ९० लाख ७५ हजार रुपैयाँको टुथपिक आयात गरेको थियो । यस अवधिमा ६० हजार ४२७ केजी टुथपिक नेपाल भित्रिएको थियो ।
अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एक करोड ३४ लाख १९ हजार रुपैयाँ बढी रकम नेपालले टुथपिक आयातमा खर्च गरेको छ ।