
काठमाडौं । सांसदहरूले भारत–पाकिस्तान तनावले नेपालमा पर्न सक्ने प्रभावको आकलन गरी योजना निर्माण गर्न सुझाव दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्न सक्ने प्रभावको आकलन गरे योजना निर्माण गर्न आग्रह गरे ।
“भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृंखलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्न सक्ने प्रभावसम्मको आकलन गरी योजना निर्माणको माग गर्दछु,” उनले भने ।
सार्क राष्ट्रको अध्यक्षको नाताले शान्ति र स्थिरतामा चासो राख्नुपर्ने उनको भनाइ छ । “पहलगाम आक्रमणपछि भारत–पाकिस्तानबीच तनावको स्थिति देखिएको छ । आफ्नो छिमेकीमात्र होइन, सार्कको अध्यक्षको नाताले यस क्षेत्रको शान्ति र स्थिरतामा स्वाभाविक चासो हुनुपर्छ,” उनले भने ।
सांसद खनालले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गरेकाले उद्धार र सुरक्षाको पहल गर्न आग्रह गरे । उनले समग्र परिस्थितिको मूल्यांकन र सरकारको तयारीबारे जानकारी गराउन रुलिङको मागसमेत गरे ।
“संसद्लाई समग्र परिस्थितिको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रुलिङ होस्,” खनालले भने ।
नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सम्भावित घटनाबाट आयातमा पर्ने असरलाई समयै ध्यान दिनुपर्ने बताए ।
“भारत र पास्कितान द्वन्द्वले आइपर्ने समस्याबाट हामीले सतर्कता अपनाउनैपर्छ । लाखौँ नेपाली भारतको विभिन्न ठाउँमा पेसामा बसिरहनुभएको छ, हजारौँ विद्यार्थी अध्ययनरत छन् । उनीहरूको सुरक्षा र सम्भावित घटनाबाट आयातमा पर्ने असरलाई समयै ध्यान दिनुपर्छ,” उनले भने ।
नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले दुई देशबीचको तनावको प्रभाव नेपालमा पर्न सक्ने बताइन् । “प्रभाव नेपालमा पर्न सक्छ । हामीले भोग्नुपर्ने सम्भावित चुनौती भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमा, सुरक्षा जोखिम, आपूर्तिमा संकट, हवाई यातायात, पर्यटन र व्यापार,” उनले भनिन् ।
उनले दुवै देशसँग संवाद र कूटनीतिक सक्रियता बढाउनुपर्ने धारणा राखिन् । सुरक्षा जोखिम कम गर्न सीमा सुरक्षा बलको क्षमता बढाउनुपर्ने बताइन् ।
नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेत सुवेदीले सबै राजनीतिक दलले घटनाबारे साझा धारणा बनाउन आवश्यक रहेको धारणा राखिन् ।
“यस्तो बेला सबै राजनीतिक पार्टी एकै ठाउँमा उभिएर एकैरूप समझादारी निर्माण गर्नुपर्ने ठान्दछु । यस विषयमा सरकारले धारणा प्रस्ट गर्दै पहलकदमी अघि बढाओस्,” उनले भनिन् ।