
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे कुनै पूर्वाग्रह नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले कानुनको कार्यान्वयन गर्ने मनसाय मात्रै रहेको बताएका हुन् ।
“यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु,” उनले भने ।
गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षकले गराएको जानकारी सदनमा सुनाए । वैशाख १७ गते पक्राउको पत्र लिएर सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय पुगेको बताए ।
परिचयपत्रसहित अदालतको आदेश कार्यान्वयन गर्न आएको बताएको र सोहीअनुसार प्रहरीले चौधरीलाई पक्राउ गरिएको बताए । उक्त पत्र अदालतको आधिकारिक नरहेको सर्वोच्चको पत्रपछि चौधरी रिहा भएको बताए । अनधिकृत पत्र लेखेका विष्टमाथि अनुुसन्धान भइरहेको उनले जानकारी दिए ।
भविष्यमा यस्ता घटना नदोहोरिनेप्रति सजग गराएको उनको भनाइ छ । चौधरी र परिवारप्रति भएको अफ्ठ्यारोप्रति उनले दुःख व्यक्त गरे ।