
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार आज अख्तियारबाट आएको तीनजनाको टोलीले आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको बारेमा सोधपुछ गरेका थिए ।
“अख्तियारबाट तीनजनाको टोली बोर्डमा आएको थियो । आईपीओ पाइपलाइनमा रहेका कम्पनीको विषयमा सोधपुछ गरेका थिए,” स्रोतले भन्यो ।
अख्तियारबाट आएको टोली दिनभरि नै बोर्डमा बसेको थियो । धितोपत्र बोर्डका अध्यक्षले आईपीओ निष्कासन अनुमति दिनका लागि कमिसन मागेको भन्ने कुरा बाहिरिएको थियो ।
बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो कुरा आधारहीन भएको दाबी गरेको थियो ।
माओवादीका सांसद माधव सापकोटाले हाइड्रोपावरको आईपीओ निष्कासन स्वीकृति दिन कमिसन मागेको विषयमा बुधबारको संसद् बैठकमा कुरा उठाएका थिए ।
आईपीओ स्वीकृतिमा 'कमिसन मागेको' विषय संसद्मा उठ्यो, छानबिन गर्न माओवादीको माग