
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको तेस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्न खोजेको भन्ने कुरा असत्य भएको बताएका छन् ।
“म आठ वर्ष राष्ट्रपति पदमा रहनेछु । म दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुनेछु । मैले यो धेरै महत्वपूर्ण मानेको थिएँ,” ट्रम्पले आइतबार प्रसारण भएको एनबीसीको मिट द प्रेस कार्यक्रममा भने ।
यसअघि ७८ वर्षीय ट्रम्पले तेस्रो वा चौथो कार्यकालका लागि राष्ट्रपति हुनेबारेमा प्रश्न गर्दा म ठट्टा गरिरहेको छैन भनेका थिए । पछि उनले यी कुराहरू संचारमाध्यलमले ट्रोल गर्ने उद्देश्यले बाहिर ल्याएको बताए ।
उनको कम्पनी ‘द ट्रम्प अर्गनाइजेसन’ले ‘ट्रम्प २०२८’ नारा लेखिएका टोपीहरू बेच्दै आएको छ । यसले उनी जनवरी २०२९ मा दोस्रो कार्यकाल सकिएपछि पनि पदमा बस्न चाहेको भन्ने अनुमानहरू बढेका छन् ।
फ्लोरिडाको आफ्नो निजी आवासमा शुक्रबार रेकर्ड गरिएको उक्त अन्तर्वार्तामा ट्रम्पले उनलाई पदमा बसिरहनेबारे विचार गर्न अनुरोध गर्ने धेरै मानिस रहेको बताए ।
“धेरैले मलाई तेस्रो कार्यकाल पनि राष्ट्रपति भइदियोस् भन्ने चाहन्छन्,” ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो १०० दिन पूरा गरेको केही दिनपछि भने, “मेरो जानकारीमा यो गर्न मिल्दैन । यो संविधानविरुद्ध हो कि होइन, मलाई थाहा छैन ।”
उनले २०२८ को टोपी बेच्ने अरु पनि धेरै भएको भन्दै उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसहित धेरै रिपब्लिकन नेताहरूले उनको स्थान लिनसक्ने बताए ।
अमेरिकी संविधानको २२ औँ संशोधनले कसैलाई दुई पटकभन्दा बढी राष्ट्रपतिका लागि निर्वाचित गरिने छैन भनेको छ । यसलाई परिवर्तन गर्न सिनेट र कांग्रेसबाट दुईतिहाइको सहमति र देशको तीनचौथाइ राज्य सरकारहरूको समर्थन चाहिन्छ ।
ट्रम्पका केही समर्थकहरूले संविधानमा रहेका केही कानुनी छिद्रमार्फत तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न सकिने दाबी गरेका छन् । तर, यो कानुनी व्यवस्था अहिलेसम्म अदालतमा परीक्षण भएको छैन । बीबीसी