
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन् । बिहीबार (वैशाख १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“हामीले गैरआवासीय नेपाली नागरिकता त वितरण गरिरहेका छौँ, तर हामीले गैरआवासीय नागरिकता वितरण गरिसकेपछि त्यो नागरिकता नागरिकताजस्तैको अनुभव गर्न पाउनुभएको छैन साथीहरूले,” उनले भने ।
गैरआवासीय नेपालीले लिएको उक्त नागरिकताले नेपालमा उद्योग, व्यवसाय गर्न मार्गप्रशस्त नगरेको उनले उल्लेख गरे । उनले गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताए ।
“...गैरआवासीय नागरिकता लिनुहुन्छ अनि यहाँ एउटा टुक्रा जग्गा लिनुपर्यो भने त्यो नागरिकताले काम गर्दैन,” उनले भने, “त्यसमा परराष्ट्र मन्त्रालय जाऊ, भूमिसुधार मन्त्रालय जाऊ भन्छ, अनि कहाँ घुम्ने हो ? एक टुक्रा जग्गा लिन त यति दुःख हुन्छ भने ठूलो उद्योग खोल्न खोज्यो भने के होला हालत ?”
सम्बन्धित निकायमा कामका निम्ति जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीले समस्या खडा गर्ने काम गरेको उनले बताए । गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानुन निर्माणका निम्ति तत्काल छलफल अगाडि बढाउन पार्टीले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
“हामी भन्छौँ गैरआवासीय नेपालीलाई– यहाँ आउनुहोस्, उद्योगधन्दा खोल्नुहोस् । तर, अर्कोतिर समस्या छ । सानोतिनो काम गर्न पनि उताबाट यता जाऊ भन्छ, यताबाट उता जाऊ भन्छ,” उनले भने ।
उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानुन निर्माण गर्न आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल