
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरूको डप्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गरे । "जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ"उनले भने, "त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङग्रो बजाउनुपरेको छ । यो काममा तपाईंहरू लाग्नुहोला ।"
राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट पारे ।