
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र त्यहाँका मुख्य शक्तिहरू त्यस पक्षमा नरहेको उल्लेख गरे ।
अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरूले विरोध गरिरहेको आरोप लगाए । नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको उनको भनाइ थियो ।
"भारतमै जनस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै विरुद्धको हो की भन्ने रहेछ । केही व्यक्तिहरू त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र त्यहाँको मुख्य शक्तिहरूको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन । हुन सक्दैन, त्यसले लाभ गर्दैन । भन्नेकुरा नै आयो," उनले भने, "हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरू त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन ।"
उनले भारत सरकार नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको बताए । नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरू समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरूसँगको भेटका क्रममा आफूले जानकारी पाएको बताए ।
उनले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताए । ईपीजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महसुस गरेको उनको भनाइ छ ।
"नेपाल–भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनै पनि ढंगले अल्झिएर समय खेर फाल्नु हुँदैन । बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ । त्यसका निम्ति ईपीजी नै सम्बन्ध राम्रो उपाय थियो," उनले भने ।
अध्यक्ष भट्टराईले छिमेकीहरूसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताए ।