
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति सम्झौताको क्रममा रुसले कब्जा गरेको क्रिमिया फिर्ता गर्नुपर्ने दाबीबाट पछि हट्न तयार हुने आफ्नो विश्वास रहेको बताएका छन् । तर यसअघि युक्रेनले यस्तो प्रस्तावलाई अस्वीकार गरेको थियो ।
सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियामाथिको नियन्त्रण छोड्न युक्रेनी राष्ट्रपति तयार होलान् ? भन्ने प्रश्नमा ट्रम्पले “मलाई त्यस्तै लाग्छ” भन्ने जवाफ दिए ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न र दुई हप्ताभित्रै सम्झौतामा हस्ताक्षर गर्न अपिल पनि गरे । यसको संकेत यो सम्झौता सम्भव छ भन्ने भएको बीबीसीले जनाएको छ ।
पोप फ्रान्सिसको अन्त्येष्टिअघि भ्याटिकनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छोटो भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले यी टिप्पणीहरू गरेका हुन् ।
ट्रम्पले भेटघाट राम्रो भएको र क्रिमियाको विषयमा छोटो छलफल भएको बताए । युक्रेनले बारम्बार आफ्नो कुनै पनि भूमि छोड्न अस्वीकार गर्दै आएको छ । युक्रेनले युद्धविराममा सहमति भएपछि मात्रै उक्त मुद्दामा छलफल गर्नुपर्नेमा जोड दिएको छ ।
जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले ट्रम्पका पछिल्ला टिप्पणीहरूमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
आइतबारको जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले युक्रेनलाई युद्धविरामको बदलामा ठूलो मात्रामा भू–भाग छोड्नुपर्ने सम्झौता नगर्न चेतावनी दिएका छन् ।
तर जर्मन मन्त्रीले युक्रेनले युद्धविराम प्राप्त गर्न केही भू–भाग गुमाउनुपर्ने हुनसक्छ भन्ने थाहा भएको बताए ।
ट्रम्पले गत हप्ता सम्झौताका अधिकांश मुख्य बुँदाहरूमा सहमति भइसकेको भनेका थिए । सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार युक्रेनलाई रुसले कब्जा गरेको क्रिमियासहितको ठूलो भू–भाग युक्रेनलाई त्याग गर्न आग्रह गरिन सक्ने उल्लेख छ ।
रोयटर्स समाचार संस्थाले शुक्रबार प्रकाशित गरेको अमेरिकी योजनाको विवरण अनुसार अमेरिकाले रुसद्वारा क्रिमियाको अवैध कब्जालाई कानुनी रूपमा स्वीकार गर्ने तथा लुहान्स्कलगायत अन्य कब्जा गरिएका क्षेत्रमा पनि रुसको नियन्त्रणलाई मान्यता दिने प्रस्ताव समावेश छ । तर युद्धविराम लागु भएपछि मात्र कब्जा गरिएका युक्रेनी भूमिहरूको भविष्यबारे छलफल गरिने उल्लेख छ ।
अमेरिकी योजना अनुसार युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सामेल हुने बाटो बन्द गरिनेछ र युद्धविराम लागु भएपछि बेलायत–फ्रान्सको नेतृत्वमा गठन भएको गठबन्धनद्वारा सुरक्षा ग्यारेन्टी प्रदान गरिनेछ, जसमा अमेरिका सामेल हुने छैन ।
यसैबीच, युरोपेलीहरू युक्रेनविरुद्ध आक्रमण भएमा अमेरिकाबाट नेटो–जस्तै मजबुत सुरक्षा प्रतिबद्धता दिने प्रतिबद्धता चाहेको छ । उक्त योजना अमेरिकाले युक्रेन र रुस दुवैलाई विद्युत् आपूर्ति गर्नका लागि अहिले रुसले कब्जा गरेको जापोरिज्जिया आणविक विद्युत् केन्द्रको नियन्त्रण पनि लिन प्रस्ताव गरेको छ । प्रतिपक्षी योजनामा रुसलाई विद्युत् दिने कुरा भने उल्लेख गरिएको छैन ।
यसै हप्ता टाइम म्यागजिनसँगको अन्तर्वार्तामा ट्रम्पले नेटोमा सामेल हुने आकांक्षा देखाएको भन्दै पुनः युद्ध सुरु भएको दोष युक्रेनलाई दिएका छन् । अमेरिकी राष्ट्रपतिले क्रिमिया रुससँगै रहने टाइमलाई बताए ।
आइतबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले रुस र युक्रेनलाई शान्ति सम्झौता गर्न अगाडि बढ्न आग्रह गरे । अमेरिकाले हालैका दिनमा रुस युक्रेन युद्ध अन्त्य गर्ने बिषयमा प्रगति नभए मध्यस्ता गर्ने काम छोड्नेसम्म बताएको छ ।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । हाल रुसले करिब २० प्रतिशत युक्रेनी भू–भाग नियन्त्रणमा लिएको छ ।