
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वहरूको चलखेलका कारण दुःखद् अवस्था सिर्जना भएको दाबी गरेका छन् ।
शिक्षक नेतृत्व र सरकारबीचको वार्ता सकारात्मक दिशामा अघि बढेका बेलामा नियोजित रूपमा मुठभेड गराइएको उनको जिकिर छ । शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेडमा लैजाने षड्यन्त्रविरुद्ध महासंघको नेतृत्व थप सचेत हुनुपर्ने उनको सुझाव छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व हो । वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन । दुवै पक्ष गम्भीर ढंगले वार्तमा बसौँ र सहमति गरेर मात्र वार्ताबाट उठौँ ।”
पोखरेलले शिक्षक आन्दोलनका क्रममा घाइते भएका शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन् ।
आइतबार दिउँसो प्रहरी र शिक्षकबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपमा ३१ शिक्षक, एक पत्रकार र केही प्रहरी घाइते भएका थिए ।