site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे ६ अर्बमा नेपालमा उद्योग खोल्दै भारतको विनायक आयल, चार वर्षभित्र सञ्चालन गर्ने

काठमाडौं । भारतीय लगानीकर्ताको साझेदारीमा नेपालमा खाने तेल उद्योग खुल्ने भएको छ । भारतको विनायक आयल इन्डस्ट्रिजले नेपाली व्यवसायी राइसा टिबडेवालासँगको साझेदारीमा साढे ६ अर्ब रुपैयाँ लगानीमा खाने तेल उद्योग सञ्चालन गर्न लागेको हो । विनायक आयलको तर्फबाट नेपाली व्यवसायी टिबेडवालले लगानी बोर्डमा उद्योग स्थापनाका लागि प्रस्ताव पेस गरेका छन् ।

उद्योग पूर्वाधार बनाउन ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायले बाह्रखरीलाई बताए ।

उनका अनुसार, उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयलको हुनेछ । नेपालमा स्थापना हुने उद्योगमा विनायक आयलको ६७ प्रतिशत र बाँकी ३३ प्रतिशत टिबडेवालको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ । 

तेल उद्योग मधेस प्रदेशको राजधानी जनकपुरमा खोल्न लागिएको छ । प्रस्तावित तेल उद्योगमा लगानी गर्ने विषयमा विनायक र टिबडेवालाबीच समझदारी (एमओयू) भइसकेको छ । उद्योगले नेपालमा तेल उत्पादन गरेर भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ ।

विनायकले आगामी सन् २०२९ देखि उद्योग सञ्चालनमा ल्याउने योजना बोर्डमा पेस गरेको छ । बोर्डबाट स्वीकृति पाए यो वर्षदेखि काम सुरु गर्ने तयारी उद्योगको छ । काम सुरु गरेको चार वर्षभित्र तेल उत्पादन थाल्ने बोर्डले जनाएको छ ।

विनायकको लगानी प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा पेस हुने भएको छ । बोर्ड बैठकले  लगानीकर्तासँग वार्ता गरी एमओयू गर्ने अख्तियारी दिनेछ । अख्तियारी पाएपछि बोर्डले विनायकसँग एमओयूको काम अघि बढाउने उनले जानकारी दिए ।

नेपालमा अहिले दुई दर्जन बढी खाने तेल उद्योग सञ्चालनमा छन् । देशका विभिन्न स्थानमा पाम आयल, सनफ्लावर, सोयाबिन र तोरी प्रशोधन गर्ने उद्योग सञ्चालनमा छन् । आर्थिक मन्दीका कारण तीन वर्षयता तेल उद्योगको व्यापारमा गिरावट आएको छ । यस्तै, भारतको भन्सार दरका कारण नेपाली उद्योगको भारतमा तेल निर्यात पनि घट्दै गएको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

नेपालबाट निर्यात वस्तुमा सबैभन्दा शीर्ष स्थानमा खानेतेल रहेको छ । नेपालले तेस्रो मुलुकबाट भारततर्फ उच्च निर्यात गर्दै आए पनि स्वदेशी तेल उद्योग निकै फस्टाएको देखिन्छ । तेल उत्पादनमा ठूला व्यावसायिक घरनाको लगानी छ । 

नेपालमा तेल उत्पादनका लागि कुनै पनि कच्चा पदार्थ पर्याप्त मात्रामा उत्पादन हुँदैन । नेपालले इन्डोनेसिया, युक्रेन, रसिया, मलेसियालगायत विभिन्न देशबाट सनफ्लावर, तोरी, पाम र भटमासजस्ता कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गर्दै आएका छन् । तेल उत्पादनमा केएल दुगड, त्रिवेणी, शिवशक्तिलगायत ग्रुपको ठूलो लगानी छ ।

चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट झन्डै ७५ अर्ब रुपैयाँ बराबरको तेल भारतमा निर्यात भएको छ । कुल निर्यातमा तेलको हिस्सा झन्डै ४० प्रतिशत रहेको भन्सार विभागले जनाएको छ । नौ महिनामा एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको वस्तु भारत, चीनलगायत तेस्रो मुलुकमा निर्यात भइरहेको छ । समीक्षा अवधिमा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

विभागका अनुसार, नौ महिनामा सोयाबिन, सनफ्लावर तेल, अलैची, टेक्सटाइल, फलामजन्य सामग्री बढी निर्यात भएको छ ।

निर्यातमा केही वृद्धि भएता पनि आयात उच्च हुँदा नौ महिनामा व्यापार घाटा ६.४५ प्रतिशत बढेको छ । चैतसम्मको तथ्यांकअनुसार ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro