-1745644383.jpg)
तेह्र वर्षको उमेरमा आठ कक्षामा पढ्दै गरेको छोरो रघुलाई गिरिधरले भने, ‘ए रघे, अब तँ पनि लक्का जवान हुन लागिस्, घरजम गर्नुपर्यो । बिहे भन्ने कुरा बेलैमा गर्नुपर्छ, बुझिस् !’
गिरिधरको कुरा सुनेर रघु अलिअलि लजाएझैँ गर्यो, तर उत्तर केही दिएन । बरु, एउटा छेस्कोले भुइँतिर कोर्दै अलमलिएझैँ गर्यो ।
आँगनको डिलमा डोको बुन्दै गरेका गिरिधरले फेरि थपे, ‘मेरो त सात वर्षमा बिहे भएको हो । अझ तेरी आमा त त्यो बेला पाँच वर्षकी मात्र थिई । हाम्रो पालाको कुरा गर्ने हो भने त तेरो बिहे गर्न ढिला भइसक्यो । तर, अब ढिला गर्नु हुन्न । कुरा बुझिनस् के !’
‘होस् बा, अहिले बिहे त नगरौँ । अब तीन वर्ष पढ्छु । अनि दश कक्षा पनि सकिन्छ, त्यसपछि विचार गरौँला नि,’ रघुले बासँग विवाहप्रति अनिच्छा प्रकट गर्यो ।
‘होइन ए रघे, तँलाई बुढो भएपछि कसले केटी दिन्छ हँ ! अहिले केटी मिलेको बेला बिहे गरिहाल्नुपर्छ । खानदानकी केटी मिलेको छ,’ बाले थपे ।
भित्रबाट भुटेको मकै थालमा बोकेर रघुकी आमा बाहिर निस्किन् र मकै बाका छेउमा राख्दै बाबुछोराको गफमा आमा पनि सामेल भइन् ।
‘अब खुरुक्क बिहे गर् रघे ! अनि, घर व्यवहार सम्हाल,’ आमाले पनि बाबुकै भनाइलाई बल दिइन् ।
बाबुछोराबीचको गफ अब बाबुआमातिर मोडियो । रघु स्रोता भयो ।
‘हिजो डाँडागाउँकी माइली आ’की थिई, उसले भन्दै थिई– हाम्रो रघुलाई दिन ठिक पारेकी चित्रप्रसादकी छोरी अम्बाको बिहे त यो वर्ष जसरी पनि गर्ने रे ! पर नसर्दै कन्यादान गरे पुण्य मिल्छ भनेर वर्षा लाग्नुअगावै बिहे गर्ने भनेर ठिक परेका रहेछन् । कुरा त ठिकै हो, बढ्दो उमेरकी केटी एघार वर्ष कटेपछि पर सर्ने त भरे कि भोलि, भरै हुन्न । हामीले बिहे नगरे अन्तै भा’नि बिहे गरिदिने रे ! बिहे गर्छु भन्ने केटाहरूको लाम छ रे,’ आमाले बिहे गर्ने केटीको बारेमा बेलीविस्तार लगाइन् ।
‘गर्छ नि हाम्रै रघेले बिहे ! अब बिहे नगरेर सुख र ? दिदीहरू पनि बिहे गरेर घर गइसके । अब हामी पनि काम गर्न नसक्ने हुन लाग्यौँ, घर सम्हाल्नु परेन ?,’ बाले अलिकति दबाबको शैलीमा भने ।
‘त्यो केटीलाई अस्ति मैले हाटमा पुलुक्क देखेकी थिएँ, बोलाउन खोजेको मसँग लजाएझैँ गरेर ऊ तर्किहाली । केटी त उमेर कम भए पनि हट्टाकट्टा रै’छे । लामालामा हातखुट्टा, अग्लो दार भएकी, मोटीघाटी, गरी खानचाहिँ सक्छे जस्तो छ त्यो केटीले । त्यो केटी पाउनु हाम्रो रघेको पनि भाग्य हो,’ आमाले केटीको बखान गरिन् ।
‘ल रघे, आमाको कुरा सुनिस् नि ! केटी गतिली छ, अब खुरुक्क बिहे गर् । हामीजस्ताले तेत्तिकी केटी पाउन गाह्रो छ । मान्छे पनि हामीभन्दा उच्च खानदानकै हुन् । हामीले समयमै निर्णय नगर्दा उनीहरूले छोरी अरूलाई दिए भने तँ हेरेको हेरेकै हुन्छस् रघे,’ बाले थपे ।
रघु अझै पनि केही बोलेन । बरु, कुरा टार्न खोजेजस्तो गरी आँगनतिर खेल्न थाल्यो ।
‘त्यो केटी र हाम्रो रघेको जोडीचाहिँ मिल्छ जस्तो छ है । नयाँ दौरासुरुवाल र कोट लगाइदिएपछि त हाम्रो रघे पनि कहाँ कम देखिन्छ र ! अलि खिनाउटे भए पनि मान्छे नराम्रो त छैन नि,’ गिरिधरले रघुकी आमासँग कुरा गरेको जस्तो गरी छोरालाई फुर्क्याए ।
कोट शब्द कानमा पर्नासाथ रघुले ठाडो कान लगायो । भर्खरै जँुगाको रेखी बस्दैै गरेको रघु गाउँघरमा यदाकदा कोट लगाएका मान्छे देखेर लोभिन्थ्यो । मनमनै भन्थ्यो– मैले पनि यस्तो कोट लाउन पाएको भए !
स्कुलका हेडसरले कहिलेकाहीँ कोट लगाएको देखेर पनि रघु धेरैपटक लोभिएको थियो । चुनावताका गाउँमा एकजना नेता आएका थिए, उनले पनि त कोट लगाएका थिए । त्यो दिन नेताले गरेको भाषणमा भन्दा रघुले नेताले लगाएको कोटमा झिमिक्क नगरी आँखा लगाएथ्यो । त्यति बेला उसले साथीहरूसँग भनेथ्यो, ‘एक दिन म पनि यो नेताजस्तै कोट लाउने बन्छु ।’
रघुको कुरा सुनेर साथीहरूले रघुलाई गिल्ल्याएथे, ‘लाऊलास् मूला तैँले त्यस्तो कोट ! सपनामा होला ।’ रघुको कोट लगाउने रहरमाथि साथीहरू गलल्ल हाँसेथे ।
उसो त पोहोर साल दसैँमा पनि रघुले बालाई भनेको थियो, ‘बा, यो वर्षको दसैँमा मलाई एउटा कोट सिलाइदिनुस् न ! बरु, अरू लुगा केही किन्दिनु पर्दैन, पुरानै लाउँछु ।’
त्यति बेला बाले भनेथे, ‘ए रघे मोरा, हामीजस्तो मान्छेले कोट लाउने होइन ! त्यो कोट त ठूलाबडा मान्छेले पो लाउने त ।’ यसरी पोहोरको दसैँमा पनि रघुको कोट इच्छा सहिद भएथ्यो ।
गत वर्षकै कुरा हो, कक्षा सातको किताब किन्न सदरमुकाम जाँदा पनि उसले सदरमुकामको चोकमा रहेको ‘ह्यान्डसम सर्टिङ सुटिङ एन्ड टेलरिङ’मा पसेर भित्तामा झुन्ड्याइएका कोटलाई आँखा झिमिक्क नपारी हेरेथ्यो । अनि, एकछिनमा आँटै गरेर एउटा कोटलाई इंगित गर्दै सोधेथ्यो, ‘ऊ त्यो कोटको कति पर्छ साहुजी ?’
‘बाह्र सय पचास,’ साहुजीले रघुको मुखतिर पनि नहेरी उत्तर दिएथ्यो ।
साहुजीको मुखबाट कोटको मूल्य सुन्नासाथ रघु जिब्रो टोक्दै पसलबाट बाहिर निस्केथ्यो र आत्मग्लानि गरेथ्यो । अनि, रघुले यो जीवनमा आङमा कोट हाल्ने सपना मारेथ्यो ।
तर, आज अचानक बाका मुखबाट कोट शब्द सुन्नासाथ उसको सुषुप्त इच्छा पुनः जागृत भयो ।
‘साँच्ची मलाई कोट पनि सि’दिने हो त बा ?,’ रघुले उत्साहित हुँदै बाको छेउमा आएर सोध्यो ।
‘हो नि ! आफ्नो एउटा छोरोलाई ब्याउलो बनाउने भएपछि यो गिरिधरले जसरी पनि कोट सिलाइदिन्छ, बुझिस् !’ बाले रघुको काँधमा ढाडस दिँदै भने ।
बाको कुराले रघुको मनमथिंगलमा आशाको सञ्चार भए पनि उसलाई विश्वास अझै थिएन । रघुलाई उसका बा अलि लोभी छन् भन्ने थाहा थियो । फेरि, पहिलेपहिले गाउँमा हुने गरेका बिहेमा बेहुलाहरूलाई बिनाकोट दौरासुरुवाल र पटुकामा मात्र देखेको थियो । दौरासुरुवालले मात्र चल्ने ठाउँमा कोट सिलाइदेलान् त बाले ? आधा आशा र आधा अविश्वासको दोसाँधमा रघुको मन अद्र्धपुलकित भयो ।
रघुले कोट लगाएपछिको आफूलाई अरूसँग तुलना गर्यो । ती हाम्रा हेडसर, त्यो प्रधानपञ्चको कान्छो छोरो, ऊ त्यो अस्ति हाम्रो स्कुलमा आएको जिल्ला शिक्षा अधिकारी आदिआदि । रघु सोचमग्न भएर एकोहोरो माथि डाँडातिर हेरिरह्यो ।
‘के सोचेको रघे तैँले ?,’ बाको आवाजले रघु झसंग भयो ।
अनि सम्हालिँदै बोल्यो, ‘बा, मलाई त त्यो ब्याउलाको शिरमा फेटा बाँधेको पनि मन पर्दैन । ब्याउलालाई त ढाकाटोपी किनेर लाइदिनु नि ! पाल्पाली ढाकाटोपी । किन त्यस्तो फेटा बाँधिदिएको होला ?’ पाल्पाली ढाकाटोपी गाउँमा खुब चलेको थियो । जडौरी नै किन नहोस्, ढाकाटोपी लगाउने मान्छे आफूलाई अलि अर्कै दर्जाको ठान्थ्यो ।
‘ल ल, तेरो बिहेमा चाहिँ म पाल्पाली ढाकाटोपी नै किनिदिन्छु,’ गिरिधरले रघुलाई टोपी समेत किनिदिने कुरामा आश्वस्त पार्न खोजे ।
०००
फैलिनु कुराको नियम भनेझैँ रघुको बिहेको कुरा गिरिधरको घरमा स्थगित भएन, बरु वेगले अगाडि बढ्यो । एकान, दोकान मैदान गर्दै गाउँभरि फैलियो ।
तर, बिहेतिर रघुको दिलचस्पी थिएन । कस्ती केटी, के नाम, कति वर्षकी, कस्तो खानदान, कति हट्टाकट्टा – यी सब उसका लागि चासोका विषय थिएनन् । उसको सम्पूर्ण मन कोटमा गएर अडिएको थियो । रघु पटकपटक कोटमा आफू सजिएको कल्पनामा रोमाञ्चित भएको थियो ।
रघुको ध्यान कोटमा भए पनि अरूको ध्यान बिहेको तयारीमा थियो ।
केही दिनपछि बाले एक दिन फेरि भने, ‘ए रघे, केटी हेर्न जान्छस् त ! बिहे गर्नुअगाडि एकपटक केटीको अनुहार त हेर्नुपर्छ, मसँग हिँड् मुला !’ रघु केही बोलेन ।
रघु केही नबोलेपछि बाले फेरि थपे, ‘केटी हेरेर फर्किंदा सदरमुकाममा कोट पनि सिउन दिएर आऊँला नि !’
कोटको नाम सुन्नासाथ रघुले फेरि ठाडो कान लगायो, हतारहतार भन्यो, ‘कोट पनि सिउन दिहाल्ने हो त बा ?’
‘हो क्या हो, म तेत्तिकै भन्छु त !’
बाले केटी हेर्न जाने दिन तोके । तोकिएको दिन घाम दुई जुवामाथि हुँदै गर्दा गिरिधर घरबाट निस्के । रघु बाको पछिपछि लाग्यो ।
बाटोमा बा अघिअघि रघु पछिपछि हिँड्दै गर्दा गिरिधरले भने, ‘केटी त गतिली छ रे, बुझिस् रघे ! निकै खाइलाग्दी छ रे भन्छन्, गरी खान्छे, तँलाई सुख हुन्छ ।’ गिरिधरले बाटामा केटीको बारेमा पटकपटक कुरा गर्न खोजे रघुसँग । तर, गिरिधरको कुरामा रघुले मतलबै गरेन ।
बरु, रघु त बाटामा कोट लगाएका मानिस भेट्यो भने कोटको कुरा निकालिहाल्थ्यो । रघु भन्थ्यो, ‘ऊ त्यो कोटको ‘कलर’ ठिक छैन त बा ?’
फेरि बाटामा अर्को कोटधारी भेटिन्थ्यो । ‘त्यसको कोटचाहिँ पुरानो भइसकेछ । नयाँ सिलाउन पैसा नभएरै त अर्को किन्न नसकेको होला नि, हगि बा ?’
बाको पछिपछि लागेर रघु केटीको घर पुग्यो । तर, अम्बा उनीहरूको छेउमै परिन । एक रातभर केटीको घरमा बास बस्दा पनि रघु र उसका बाले केटीको अनुहार हेर्न पाएनन् । रघुका बाले अनुमान लगाए– हुनेवाला ससुरा र लोग्नेसँगको लाजले त होला, केटी छेउमा नपरेकी !
रघुका बा र केटीका बाले आपसमा केके कुरा गरे कुन्नि, रघुले त्यति मेसो पाएन । कुरामा धेरै चासो पनि लिएन । यतिचाहिँ उसले थाहा पायो, अर्को महिनाको तेह्र गते रघु र अम्बाको बिहे गर्ने निधो भयो । दुवैतिरका बाले यति भनेको चाहिँ उसले सुन्यो, ‘केटाकेटीको ग्रह मिलेको छ । लगन पनि जुरेको छ । शुभ काममा किन विलम्ब ?’
‘बरु, छोरी सानै छ, बिहेपछि दुई/तीन वर्षजतिचाहिँ माइतमै छोडिदिनुपर्ला,’ छुट्टिने बेलामा अम्बाका बाले सर्त राखे ।
लगन र ग्रह मिलोस् कि नमिलोस्, केटीको अनुहार हेर्न पाइयोस् वा नपाइयोस्, बिहेपछि उसकी ब्याउली दुई वर्ष माइत बसोस् कि दश वर्ष बसोस्, यो सबमा रघुलाई कुरा मिल्नु थिएन । रघुलाई त कोटको रङ र साइज मिल्नु थियो । कोट लगाएर आफ्नो अनुहार ऐनामा हेर्नु थियो ।
रघुले बालाई हिँड्न हतार लगायो, ‘छिटोछिटो कोट पसलेकोमा जाऊँ बा, फेरि कोट पसल बन्द भो भने कोट नपाइएला !’
‘बन्द हुँदैन क्या ! धेर नआत्तिन तँ,’ बाले रघुको अधैर्यमा मलहम लगाउन खोजे ।
०००
केटीको घरबाट फर्किंदा पनि बाको पछिपछि हिँडेको रघु कोट पसल आउने बेलामा भने बाभन्दा अगाडि लाग्यो र हतारिँदै कोट पसलमा छिर्यो । त्यो कोट पसल त्यही थियो, जुन पसलमा उसले एक वर्षअगाडि स्यालको गतिमा भित्र छिरेर कोटको मूल्य सोधेको थियो । साहुजीबाट कोटको मूल्य सुन्नासाथ जिब्रो टोक्दै कुलेलम ठोकेको मात्र थिएन, जीवनमा कोट लगाउने सपना नै त्यागेको थियो ।
तर, आज रघु फुर्तीसाथ त्यही कोट पसल छिरेको थियो । किनकि, उसलाई कोट किनिदने उसका बा उसका पछाडि उभिएका थिए ।
बाले बोल्न नपाउँदै रघुले पसलको भित्तामा झुन्ड्याइएको एउटा फिका कालो कोटतिर इंगित गर्दै सोध्यो, ‘ऊ त्यो कोटको कति पर्छ साहुजी ? भन्नुस् त !’
‘पन्ध्र सय पर्छ ।’
‘पोहोर साल त मलाई त्यस्तै कोटको बाह्र सय भन्नुभा’को थ्यो त ?’
‘जमाना बदलियो भाइ ! एक वर्षमा धेरै महँगी बढिसक्यो ।’
‘ल ठिक छ त त्यसो भा, त्यो कोट मलाई ठिक हुन्छ ? निकाल्नुस् त !’
‘त्यो त भाइलाई अलि ठूलो हुन्छ होला, फेरि त्यो अर्काको ‘अर्डर’को कोट हो । सिलाउने भए नाप लिएर सिलाउनुपर्छ । एक हप्तामा तयार हुन्छ ।’
बाले हेर्दाहेर्दे रघुले पसलेसँग यति संवाद गर्न भ्याइसकेको थियो ।
त्यसपछि बा बोले, ‘सिलाइदिनुस् न त साहुजी एउटा कोट ! यो केटो ब्याउलो हुँदै छ । कोट लाउँछु भन्छ । जिन्दगीमा एकपटक गर्ने बिहेमा लाओस् न त एउटा कोट !’
साहुजी रघुको शरीरको नाप लिन थाल्यो । नाप लिँदै गर्दा बाले भने, ‘कोट अलि ठूलै सिलाइदिनुस् है साहुजी ! यो बढ्दो उमेरको केटो छ । कोट एक वर्षमा फाटी हाल्दैन, अर्को वर्षबाट लाउन पाएन भने त कोट खेर मात्र जान्छ । कोट भन्ने कुरा कहिलेकाहीँ लाउने त हो, अलि ठूलो सिलायो भने यो कोटले यसको जिन्दगी नै धान्छ ।’
नाप लिएपछि पसलको भित्तामा सजाएर राखिएका कपडातिर देखाउँदै साहुजीले कपडा छान्न भन्यो । रघुले कालो रङको सबैभन्दा चिप्लो कपडा छान्यो ।
कोट सिलाउन दिएर रघु बासँग घर फर्क्यो ।
०००
रघुका बा र रघु अनुहार देख्न नपाएकी केटी हेरेर फर्केपछि रघुको घरमा विवाहको तयारी झनै तीव्र गतिमा अगाडि बढ्यो । टपरी गाँस्ने, चिउरा कुट्ने, दाउरा काट्ने, पिठो पिँध्ने, चामल कुट्ने । हाटबाट सामान किनेर ल्याउने काम पनि लगभग सकिएको थियो ।
विवाहको दुई दिनअगाडि रघुका बा फेरि सदरमुकाम गए । बिहेका छुटपुट सामान किन्न र रघुको कोट लिन । बिहे घरमा जम्मा भएका छिमेकी र आफन्तहरू कसार बाटार्नेदेखि लिएर सेलरोटी पकाउनेसम्मका काम गर्दै थिए ।
रघु भने त्यो दिन स्कुल पनि नगएर दिनभरि बाको फर्किने बाटो हेरेर बस्यो । हेर्न त उसले बाको भन्दा बढी कोटको बाटो हेरेको थियो ।
रघुले दिनभरि आँखा टट्याउने गरी बाको बाटो हेरे पनि बा भने निकै राति मात्र घर फर्के । बा फर्किनासाथ उसले सोधिहाल्यो, ‘खै बा मेरो कोट ? म लाइहेर्र्छु ।’
‘नयाँ कपडा पहिलोपटक राति लाउनु हुन्न । भोलि उज्यालोमा लाउनु अब,’ रघुकी आमाले भनिन् ।
रघु रातभरि कोट च्यापेर सुत्यो । कोटसँग अलिकति कोट लगाउन नपाएको खिन्नता पनि च्याप्यो । उसलाई कहिले उज्यालो होला र कोट लगाऊँलाजस्तो भइरहेको थियो ।
भोलिपल्ट बिहान रघु उठ्दा बिहे घरमा थप मान्छे जम्मा भइसकेका थिए । रघुले कोट लगाइहेर्यो, जिन्दगीको पहिलो कोट । तर, कोट आङमा हाल्दा उसलाई अलि असजिलोजस्तो लाग्यो । रघुले सोच्यो– कोट लाउन अलिअलि असजिलै हुन्छ होला !
रघु कोट लगाएर बाहिर मात्र के निस्केको थियो, एउटाले भनिहाल्यो, ‘लौ यो कस्तो कोट सिलाको ! कोट हो कि ओभरकोट ? घुँडासम्म लामो छ त !’
अर्कोले थप्यो, ‘अनि, बाहुलाचाहिँ किन यति छोटो नि ? कुमतिर पनि कस्तो नमिलेजस्तो । यो सिलाउनेले त बाहुलाको लुगा पनि तलतिर ल्याएर हाल्यो कि क्या हो !’
रघुले कोटको टाँक लगाउन खोज्यो, टाँकले प्वाल नै भेटेन । कोटको चौडाइ सानो, बाहुला छोटो र लम्बाइ लामो भएछ ।
रघुले कोटको पछाडि छाम्यो । साहुजीलाई ‘कोटको बीचमा चिरुवा राखिदिनु है’ भनेको थियो, सिलाउनेले दायाँबायाँ दुईतिर पो राखिदिएछ !
‘होइन, ब्याउलाको कोट त बिगारेछ नि काका !,’ डाँडाघरे दिलकृष्णले गिरिधरलाई भने ।
‘मैले त कोट नै पहिलोपटक देखेको हो, कोट हुने नै यस्तै होला हो । त्यत्रो पैसा तिरेर सदरमुकाममा सिलाएको कोट कहाँ बिगार्छ ?,’ झ्यालघरे साइँलो कोटको समर्थनमा बोल्यो ।
‘कहाँ हुन्छ यस्तो कोट ! हाम्रो हेडसरले अस्ति ला’को कोट देखेनौ तिमीहरूले ? जिउमा कस्तो टपक्क मिलेको थियो,’ जिम्दारको छोराले भन्यो ।
‘खै, मैले पनि ब्याउलाको लागि कोट त यो गाउँमा पहिलोपटक नै सिलाको देखेको हो । यस्तै हो कि !,’ अर्कोले अनभिज्ञता प्रकट गर्यो ।
कोटको पक्ष र विपक्षमा बहस चलिरहेको थियो । एक, दुई, तीन, चार गर्दै अधिकांशले कोट बिग्रेको निष्कर्ष निकाले ।
कोट बिग्रियोस् कि सप्रियोस्, गिरिधरलाई मतलब थिएन । उनलाई त छोराको बिहे सप्रे संसार जितेझैँ हुने थियो । रघुलाई चाहिँ विवाह होस् कि नहोस्, मतलब थिएन । कोट गतिलो भए संसार जितेझैँ हुने थियो ।
कोट बिग्रेको भन्ने थाहा पाएपछि रघुको मुख कालो भयो, मन अमिलो भयो । झलमल्ल घाम लागेको दिन पनि उसले धमिलो देख्यो ।
रघु सरासर भित्र पस्यो र उसले कोट फुकालेर ओछ्यानमा फाल्यो । अनि, खिन्नतालाई अँगालो हालेर त्यही ओछ्यानको अर्को छेउमा पल्ट्यो ।
बिहेघरमा चहलपहल चलि नै रहेको थियो । निकै बेरसम्म रघु घरबाहिर ननिस्केपछि छोरा खोज्न गिरिधर घरभित्र पसे ।
बालाई देख्नासाथ रघुले ठुस्स पर्दै भन्यो, ‘कोट नै बिग्रेछ, अब म त बिहे गर्दिनँ बा ! पहिला कोट बनाऊँ, अनि बिहे गरौँला !’
‘के भन्छ यो रघे ! तँ बहुलाउन त लागिनस् ? यत्रो तयारी भइसक्यो, अब बिहे गरेन भने त बित्यास पर्छ । नाताकुटुम्बले हामीलाई के भन्लान्, समाजले के भन्ला, हाम्रो इज्जत जाँदैन ? हामीले समाजमा बस्नु पर्दैन ?’
‘जसले जेसुकै भनून बा, कोट नलगाई त म बिहे गर्दिनँ !’
गिरिधरले रघुलाई फकाए, ‘भोलि बिहे अन्माउने । बाटोमा अर्को कोट पाए किन्ने । नभए यसैलाई मिलाउन लगाउने र ब्याउलीको घर जाने ।’
बाको मन राख्नका लागि रघुले अमिलो मुख पारेर ‘हुन्छ’ भन्यो ।
०००
अर्को दिन बिहान उज्यालो नहुँदै बरियाँत चलाइयो । जन्ती हिँडे । अगाडिअगाडि पन्चेबाजा, बीचमा नमिलेको कोटमा बेहुलो भएको रघु । अनि, पछिपछि जन्ती ।
उज्यालो हुँदा बरियाँतले एक डाँडो पार गरिसकेको थियो ।
चौतारामा चौतारेहरू भेला भएर बसेका थिए । एउटा चौतारेले प्याच्च भन्यो, ‘आबुइ, कति सानो ब्याउलो हो ! यस्तो सानो केटाको बिहे गरिदिँदा पुलिसले थाहा पायो भने त जेल पो हाल्छ त हो यिनीहरूलाई ।’
‘हो नि, बालविवाहको मुद्दा लाग्छ यिनीहरूलाई । ससुरालीघर हिँडेका मान्छे अब मामाघर पुग्ने भए !,’ अर्कोले थप्यो ।
चौतारेका कुरा सुनेर गिरिधर झसंग भए । जन्तीहरूमा सन्नाटा छायो ।
एक घण्टाको बाटो हिँडिसकेका जन्ती पनि केही त अब जन्त नजान पाए पनि हुन्थ्यो झैँ गर्न थाले ।
के गर्ने भन्ने अलमल हुँदै थियो । जन्तीमध्येकै एउटाले उपाय निकाल्दै भन्यो, ‘रघुको सट्टा बाटोमा अरू कसैलाई ब्याउलो बनाऊँ । भरे ब्याउलीको घर पुग्ने बेला फेरि रघुलाई नै ब्याउलो बनाऊँला !’
सुन्नेहरूलाई कुरा त ठिकै लाग्यो, तर बाटोमा अर्कोलाई ब्याउलो बनाउन पनि त सजिलो थिएन । अर्को ब्याउलालाई लगाउने कपडा खै ? तत्कालै कसरी जुटाउने ? फेरि, बाटाभरि सट्टा ब्याउलो हुन तयार हुने को ? त्यो पनि एकछिनलाई हो र, जान–आउन गरी झन्डै दुई दिन दिनभरि । उपायसँगै समस्या पनि जन्मियो ।
फेरि, अर्को वैकल्पिक उपाय निकालियो । रघुलाई बेहुलाको कपडा नलगाइदिने, जन्तीजस्तो मात्र बनाउने । बिनाबेहुला जन्ती हिँड्ने । त्यो पनि समूहमा होइन, छरिएर हिँड्ने । पहिलो विकल्पभन्दा दोस्रो विकल्प सहज थियो ।
रघुले लगाएको बेहुलाको कपडा खोलियो । पुरानो कपडाको व्यवस्था गरी रघुलाई लगाउन दिइयो । ब्याउलाबिनाको जन्ती दिनभरि हिँडिरहे । रघु पनि पुरानो लुगा लगाएर नयाँ कोट हातमा बोकेर आफ्नै विवाहको जन्ती भएर हिँड्यो, दिनभरि । तर, कोट बिग्रेको शोकले उसलाई आफ्नो जन्तीभन्दा पनि आफ्नै मलामी हिँडेजस्तो लागिरहेको थियो ।
आफ्नै विवाहको जन्ती भएर हिँड्दै गर्दा रघुले आफैँले आफैँलाई धिक्कार्यो, ‘थुक्क साला, म कस्तो अभागी होला ! जिन्दगीमा बल्लबल्ल कोट लाउन पा’को पनि सिलाउनेले बिगारिदियो । भाग्यमा नभएपछि ज्यानमा लाउनुपर्ने कोट पनि हातमा बोकेर हिँड्न पर्ने रहेछ !’
०००
बिहेका जन्ती कोट सिलाएको ‘टेलरिङ’ पसल हुँदै जानुपर्थ्यो । कोट साहुकहाँ पसेर रघुले साहुजीका अगाडि बिग्रेको कोट बजार्दै भन्यो, ‘मेरो कोट किन बिगारेको ?’
सानोसानो केटाले आफ्नो अगाडि बजारेको कोटलाई साहुजीले ओल्टाइपल्टाइ हेर्यो ।
रघुले रिसाउँदै थप्यो, ‘अहिले तुरुन्तै बनाइदिनुस् मेरो कोट ! मेरो नापानुसार यो कोट कतै पनि मिलेको छैन ।’
साहुजीले रघुलाई कोट लगाइहेर्न भन्यो, रघुले कोट लगाएर देखायो । कोट साँच्चै नमिलेको थियो ।
साहुजी ङिच्च हाँस्यो मात्र । उसको ङिच्च हाँसोमा कोट नमिलेको स्वीकारोक्ति थियो ।
‘अहिले तुरुन्तै त मिल्दैन, छोडेर जाऊ, एक हप्तामा लिन आऊ भाइ,’ साहुले भन्यो ।
रघुको रिसको पारो तात्यो, तर उपाय पनि त थिएन । रिसाउँदै रघुले कोट त्यहीँ पसलमा छोड्यो र रातोपिरो हुँदै बेहुलीघरतिर लाग्यो ।
बेहुलीको घर पुग्ने बेलामा रघु फेरि बेहुलो भयो । बेहुलो अन्माउँदा नमिलेकै भए पनि रघुसँग कोट थियो । बेहुलीको घर पुग्दा रघु बिनाकोटमा दौरासुरुवाल, पटुका र टोपीमा मात्र थियो । कोटबिनाको आफू रघुलाई आधा बेहुलोजस्तो लागेको थियो ।
रातभरि विवाहको विधि सम्पन्न भयो । वरणी, कन्यादान, सुपारी खेल्ने, मन्त्र दान । बेहुलीपक्षका छिमेकी र जन्तीपक्षबीच रातभरि श्लोकहरूको जुहारी चल्यो । रातभरि विवाहको विधि गर्दागर्दै बेहुलाबेहुली यज्ञकुण्डमा धेरैपटक निदाए ।
रघु र अम्बालाई रातभरि पण्डितले गराएका विवाहका सबै कर्म साथीहरूसँग मिलेर भाँडाकुटी खेलेजस्तो लागेको थियो ।
जन्ती फर्काइने बेलामा पनि उही अघिल्लो दिनजस्तो बेहुला र बेहुलीबिनाको जन्ती दिनभरि बाटामा हिँडिरहे ।
०००
पूर्वसर्तअनुसार बिहे सकिएपछि अम्बा माइत फर्की ।
रघुले अम्बासँग विवाह गर्यो, कोट लगाउनका लागि । त्यसो त घरमा बुहारी भित्र्याएर सासूससुरा बन्ने आमाबाको अलिकति रहर पनि त पूरा गरिदियो रघुले । अम्बाले उसका बाआमालाई स्वर्गको द्वार खोलिदिन विवाह गरिदिई । चित्रप्रसादकी छोरी भएर जन्मेको ऋण तिरी अम्बाले । बाबुको इच्छा पूरा गरिदिएर अम्बा जिन्दगीको आफ्नै लयमा फर्की । लयमा त के भनौँ, कहिल्यै पौडिएर बाहिर निस्कन नसक्ने भँगालोमा हामफाली ।
रघुको विवाह सकिए पनि कोटको कथा सकिएन, न त जिन्दगीको कथा नै सकियो । बरु, कथा त सुरु हुँदै थियो ।
मर्मतका लागि छोडेको कोट लिन रघु पटकपटक सदरमुकाम गयो । तर, पसलेले बिग्रेको कोट जतिपटक बनाउँदा पनि सुध्रने कुनै लक्षण थिएन । लामो कोटको लम्बाइतिर काट्दा कोटका गोजीहरू तल परेर कोट ठुटे भएको थियो । छोटो बाहुला कसरी लामो गर्ने ? समस्या त्यता पनि थियो । जतिपटक मिलाउँदा पनि नमिलेपछि रघुले अब कोट दुरुस्त बन्छ भन्ने आशा त्याग्यो ।
सम्बन्धको नियम छ, सम्बन्धमा भावनाहरू जति नजिक हुन्छन्, सम्बन्धहरू त्यति नै एकाकार हुन्छन्् । र, सम्बन्धहरू जति यान्त्रिक हुन्छन्, त्यति नै विकर्षित हुन्छन् । बाल्यकालमै रघु र अम्बाका सम्बन्धहरू जोडिए, तर भावनाहरू जोडिएनन् । सम्बन्धमा भावनाहरू जोड्ने औषधि वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका थिएनन् ।
०००
वर्षहरू बित्दै थिए । एक दिन पूर्वी नेपाललाई केन्द्रविन्दु बनाएर भूकम्प गयो । रघुको घरको एक पाखो भत्क्यो । रघुका बाले घरको भत्केको पाखो टालेर घर मर्मत गराए । तर, टालेको घर रघुलाई त्यही आफ्नो बिग्रेको कोटजस्तै लाग्यो ।
भत्किन त रघुको घर मात्र कहाँ भत्केको थियो र, उसको कोटको रहर भत्केको थियो । कोटको रहर मात्र होइन, आफूले मन पराएकी केटीलाई दुलही बनाएर घरमा भित्र्याई सुन्दर संसार सजाउने सपना भत्केको थियो ।
रघुलाई लाग्यो– जिन्दगी र कोट उस्तैउस्तै हुन्, एकपटक बिग्रेपछि फेरि बन्दैनन् ।
लम्बाइ काटेर बाहुला जोडेको कोटको के अर्थ ? भावना नमिलेको रघु र अम्बाको जिन्दगीको के अर्थ ?
भत्किएको घर, नमिलेको कोट र भावहीन सम्बन्ध बिर्सन रघुले एक दिन एकाबिहानै झिसमिसेमा कसैलाई पनि थाहा नदिई घर छोड्यो ।
रघुले घर छोडेपछि रघुका बाले छोराको खोजी गरे । कतै फेला परेन । गिरिधर निराश देखिए । रघुकी आमा चिन्तामा परिन् ।
एक दिन एउटा पत्रिकामा छापिएको खबरको शीर्षकमा गिरिधरको आँखा पर्यो, ‘पारिवारिक जिन्दगीबाट विरक्तिएर युवा बेपत्ता ।’
खबरमा उल्लेखित नाम उनकै छोरा रघुको थियो ।
०००
दिन बिते, महिना बिते । वर्ष बिते, दशक बिते । तर, रघुको पत्तो लागेन । ढुंगाको भर माटो, माटोको भर ढुंगा भनेझैँ गिरिधरका बुढाबुढीको भर आफू मात्र थिए । तर, त्यही एकार्काको भर पनि नियतिका लागि स्वीकार्य भएन ।
रघु हराएको बाह्र वर्षपछि गिरिधरले परलोकको बाटो तय गरे । गाउँलेहरूले गिरिधरलाई घाटमा पुर्याए । गिरिधरलाई चितामा चढाउँदै गर्दा घाटमा अर्को एउटा शव पनि ल्याइपुर्याइयो ।
‘कसको लास ?,’ कसैले सोध्यो ।
‘बेवारिसे लास रे !,’ प्रत्युत्तरमा अर्कोले भन्यो ।
गिरिधरका मलामीहरूले बेवारिसे शवको अनुहारतिर हेरे । अनुहार रघुको थियो ।
रघुले मिलाउनका लागि सदरमुकाममा छोडेको कोट अझै मिलेको थिएन ।
०००
रघुको शव तेर्स्याइएको ठाउँभन्दा अलि परबाट एउटा आवाज आयो । आवाज नारीको थियो–
कोटको रहरमा बिहे गर्यो
विरक्तिएर अकालमा मर्यो
भत्केपछि जिन्दगी र कोट दुवै उस्तै
न कोट बन्यो न जिन्दगी मिल्यो ।
‘रघुको बारेमा सबै थाहा पाउने यो आवाज कसको हो ?,’ मलामीमध्येकै कसैले भन्यो । अरूले पनि आवाज आएतर्फ आँखा घुमाए । शवभन्दा सय मिटरजति पर एक भिक्षुणी उभिएकी थिई ।
‘को हौ भिक्षुणी तिमी ?,’ अर्को मलामीले सोध्यो ।
भिक्षुणी थप केही बोलिन । भिक्षुणीको पहिचान गर्न केही मलामीहरू भिक्षुणीको नजिकतिर गए ।
भिक्षुणी आफू उभिएको ठाउँबाट फरक्क फर्केर दौडी र कतै भीडमा अलप भई ।