
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई दलीयकरणबाट मुक्त गर्नुपर्ने बताएका छन् ।
डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्री थापाले विवाद अन्त्यका लागि सर्वपक्षीय रूपमा एकताको अधिवेशन हुनुपर्ने बताए ।
एकता महाधिवेशन वास्तवमै एकताकै लागि हुनुपर्ने र त्यसमा कोही छ्ट्न नहुने उल्लेख गर्दै थापाले भने, “एनआरएनलाई मैले प्रारम्भदेखि नियालेको छु, यसलाई गैरराजनीतिक बनाउनुपर्छ र दलीयकरणबाट मुक्त गर्नुपर्छ ।”
गैरआवासीय नेपाली ऐनको सन्दर्भमा संशोधन आवश्यक रहेकाले केही नेपाल ऐन संशोधनको मार्फत अघि बढाउन आफूले सुझाव दिएको थापाले जानकारी गराए । एनआरएनएकै तर्फबाट मस्यौदा ल्याउन आग्रह गर्दै उनले अब बस्ने सदनबाट त्यसलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाए ।
डा. केसीले १८ महिना बितिसक्दा पनि गैरआवासीय नेपाली नागरिकता पूर्ण कार्यान्वयन नहुँदा आफूहरू समस्यामा परेको गुनासो गरे ।