
काठमाडौं । कश्मीरको पहलगाम आक्रमणपछि पाकिस्तानी नागरिकको भिसा रद्दबारे भारतको विदेशमन्त्रालयले थप प्रष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले पाकिस्तानी हिन्दुहरूको दीर्घकालीन भिसा (एलटीवी) सम्बन्धी स्पष्टीकरण जारी गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “रद्द गर्न प्रस्ताव गरिएका भिसाहरू पाकिस्तानका हिन्दु नागरिकहरूलाई पहिले नै दिइएको एलटीवीमा लागु हुँदैनन् । यी भिसाहरू अझै पनि मान्य हुनेछन् ।”
यसअघि विदेश सचिव विक्रम मिसरीले बुधबार अब पाकिस्तानी नागरिकले सार्क भिसा छुट योजना (एसवीईएस)अन्तर्गत जारी गरिएको भिसाको आधारमा भारत यात्रा गर्न नपाउने बताएका थिए ।
उनले भनेका थिए, “एसवीईएसअन्तर्गत पाकिस्तानी नागरिकलाई पहिले जारी गरिएको भिसा रद्द गरिएको मानिनेछ । एसवीईएसअन्तर्गत भारतमा रहेका सबै पाकिस्तानी नागरिकले ४८ घण्टाभित्र भारत छोड्नुपर्नेछ ।”
मंगलबार कश्मीरको पहलगाममा भएको हमलामा २६ जनाको मृत्यु भएको थियो ।
बुधबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद्को बैठकमा धेरै निर्णयहरू लिइएका थिए । जसमा एउटा निर्ण पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने निर्णय पनि थियो । बीबीसी