
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्को बजेट अधिवेशनमा छलफल अगाडि बढाउने निर्णय गरेको छ । बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि उपसभापति वाग्लेको नेतृत्वमा संसद्मा छलफल र बहस गर्ने निर्णय गरेको हो ।
संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडि बढाउने निर्णय गरिएको बताए । उनले बजेट अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरू लगायतका विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर देश र नागरिको हितमा संसद्मा भूमिका निभाउने जिकिर गरे ।
उनले भने, “यो बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि बजेट अधिवेशनमा छलफल, बहस, संवाद, नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरूमा छलफल गर्ने क्रममा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा हामीले संसद्मा छलफल, बहस गर्ने र सबै विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर त्यसलाई वृहत्तर देश र जनताको हितमा संसद्मा संसदीय भूमिका निर्वाह गर्ने निर्णय गर्यौं ।”
रास्वपाको गत वैशाख ४ गते बसेको केन्द्रीय समितिको बैठकले शिक्षकहरूको आन्दोलन, उनीहरूका माग र मुद्दाहरूको अध्ययन र संसद्मा प्रस्तुत हुने विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार शिक्षाका माग पूरा गराउनको लागि संसद्मा प्रभावकारी भूमिका खेल्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका डा. तोषिमा कार्की र सुमना श्रेष्ठ तथा पूर्वशिक्षामन्त्री शिशिर खनालको टिम बनाउने निर्णय गरिएको प्रमुख सचेतक परियारले बताए ।