
काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै पोखरा थर्न्डस नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । बुधबार काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीलाई १–० ले पराजित गर्दै पोखरा एनएसएलको फाइनलमा प्रवेश गरेको हो ।
पोखराको जितमा स्टेफन समीर बिनोङ नायक बने । खेलको इन्जुरी समयमा बिनोङले गरेको गोल नै पोखरालाई जित्न पर्याप्त बन्यो । उनले आयुष घलानको कर्नर क्रसमा बललाई सिधै जाली चुमाए ।
त्यसअघि धनगढीले गोल गर्ने थुप्रै अवसर पाएको थियो । तर, गोल गर्न भने सकेन । १४औँ मिनेटमा धनगढीका अफिज ओलावालेले सुनौलो अवसर गुमाए । उनले बललाई उचित गति दिन सकेनन् । उनले सर्जिओ बर्बाजोको पासमा १८ यार्ड बक्सभित्र गरेको फितलो पास पोखराका गोलकिपर प्रिसोले सजिलै नियन्त्रणमा लिए ।
१७औँ मिनेटमा पोखराका गौरव श्रेष्ठले धनगढीका अहमद हिजाजीलाई मैदानमा लडाएपछि पहेँलो कार्ड पाए । पहिलो हाफको इन्जुरी समयमा प्रिसोले पोखरालाई अग्रता व्यहोर्नबाट बचाए । उनले धनगढीका अहमद अलहजीको पासमा टोलीका दिपेश राईले प्रहार गरेको शक्तिशाली सट बचाए ।
इन्जुरी समयमा समीर स्टेफन बिनोङले सुनौलो अवसर गुमाए । उनले जोई आइडोको पासमा १८ यार्ड बक्सभित्र प्रहार गरेको सट केही इन्चले पोष्टको माथिबाट बाहिरियो ।
लगतै केही मिनेटमा बिनोङले गरेको थप एक प्रहार धनगढीका गोलकिपर वालिडले पुन विफल पारिदिए । उनले सुदिल राईको हेडर क्रसमा समीर स्टेफन बिनोङको हेडर प्रहार लाइनबाट क्रिल्यिर गरे ।
८१औँ मिनेटमा पोखराका सुदिल राई गोल गर्नबाट चुके । धनगढीका एक डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको सट गोलकिपर वालिड विरोउले सुरक्षित तवरबाट बचाए ।
८४औँ मिनेटमा पोखरा १० खेलाडीमा सीमित भयो । टोलीका गौरव श्रेष्ठलाई दोहोरो पहेँलो कार्ड दिएपछि मैदानबाट बाहिरिए । उनलाई धनगढीका सर्जीओ र्बाबाजोमाथि फउल गरेपछि दोहोरो पहेलो कार्ड दिइएको थियो । ८७औँ मिनेटमा धनगढीका जर्ज प्रिन्स कार्कीले निकै फितलो प्रहार गरे ।