site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धेरै पानी पिउनु पनि खतरनाक मानिन्छ ?

काठमाडौं । पानी जीवनको लागि जरुरी छ । तर, वैज्ञानिकहरूका अनुसार हाम्रो शरीरमा पानीको आवश्यकता धेरै कुराहरूमा निर्भर गर्छ । आवश्यकता अनुसार पानी नपिएमा शरीरमा पानीको कमी हुनसक्छ ।

तर, के धेरै पानी पिउनाले ज्यानलाई जोखिममा पार्न सक्छ ? हाम्रो शरीरको तौलको करिब ६० प्रतिशत पानी हुन्छ । यो कोषिका, रगत र शरीरका अन्य भागहरूमा हुन्छ । स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका डिहाइड्रेसन विशेषज्ञ डा. निडिया रोड्रिगेज–सान्चेजले भनिन्, “पानी पोषक तत्त्व हो । हामी प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र फाइबरमा ध्यान दिन्छौँ । तर, पानीलाई जीवनको महत्वपूर्ण पोषक तत्त्वको रूपमा लिँदैनौँ ।” 

शरीरमा पानीको भूमिका
पानीले लगभग हरेक शारीरिक क्रियामा महत्वपूर्ण भूमिका खेल्छ । हार्वड मेडिकल स्कुलका अनुसार यसका प्रमुख कार्यहरू यस्ता छन्–

  •   पोषक तत्त्व र अक्सिजन कोषिकाहरू सम्म पुर्‍याउनु
  •    मूत्राशयबाट ब्याक्टेरिया बाहिर निकाल्नु
  •    खाना पचाउन सहयोग गर्नु
  •    कब्जियत हुन नदिनु
  •    रक्तचाप सामान्य राख्नु
  •    जोर्नीहरूलाई सुचारु बनाउनु
  •   अंगहरूको सुरक्षा गर्नु
  •   शरीरको तापक्रम नियन्त्रण गर्नु
  •   सोडियमको सन्तुलन कायम राख्नु

पर्याप्त पानी नपिउँदा के हुन्छ ?
शरीरले पसिना, मूत्र र सास फेर्दा पानी गुमाउँछ । शरीर र यसका अंगहरूले सुचारु रूपमा काम गर्न पानीको कमी पूरा गर्नु जरुरी छ । यो प्रक्रियालाई पानीको सन्तुलन भनिन्छ ।

शरीरले लिनेभन्दा बढी पानी बाहिर निस्किएमा डिहाइड्रेसन (पानीको अभाव) हुन सक्छ । यसले गम्भीर स्वास्थ्य समस्याहरू जन्माउन सक्छ ।
डिहाइड्रेसनका लक्षणहरू–

  •     गाढा पहेँलो र तीव्र गन्ध भएको पिसाब देखिनु
  •     सामान्यभन्दा कम पटक पिसाब आउनु
  •     चक्कर लाग्नु
  •     थकान महसुस हुनु
  •     मुख, ओठ र जिब्रो सुक्खा हुनु
  •    आँखा धसिनु

विश्व स्वास्थ्य संगठनका अनुसार गम्भीर अवस्थामा डिहाइड्रेसनले मुटुको धड्कन बढ्ने र शरीरका अंगहरूले काम गर्न पनि छोड्न सक्छन् ।

धेरै पानी पिउनु खतरनाक हुनसक्छ ?
हामीलाई आश्चर्य लाग्न सक्छ । तर, अत्यधिक पानी पिउनु पनि खतरनाक हुनसक्छ र यसले गम्भीर असर गर्न सक्छ । 
 
छोटो समयमा धेरै पानी पिउँदा हाइपोनेट्रेमिया (पानीको नशा) हुन सक्छ । यो तब हुन्छ जब रगतमा सोडियमको मात्रा खतरनाक रूपमा कम हुन्छ । यसले गर्दा शरीरका कोषिकाहरू सुन्निने अवस्था आउँछ ।

यी हुन् हाइपोनेट्रेमियाका लक्षणहरू– 

  •     वान्ता हुनु
  •     टाउको दुख्नु
  •     ऊर्जा कमी र थकान महसुस हुनु
  •     बेचैनी र चिढचिढापन बढ्नु
  •     मांसपेशीमा कमजोरी वा ऐंठन हुनु
  •     दौरा पर्नु
  •    अत्यन्त गम्भीर अवस्थामा कोमामा पर्न सकिने 

जोहाना पेरीले आफ्नी छोरी र ज्वाईंसँग सन् २०१८ मा लन्डन म्याराथनको तयारी गर्दै गर्दा यो समस्याको सामना गरिन् । त्यो दिन अत्यन्त गर्मी थियो । उनले धावकहरूलाई दिइने पानी बढी मात्रामा पिइन् ।

बीबीसीको द फुड चेन कार्यक्रमसँग कुरा गर्दै जोहानाले भनिन्, “मेरा पति र केही साथीहरू त्यहाँ थिए, उनीहरूले मलाई देखेर हात हल्लाए । म लडखडाउँदै थिएँ । घर पुगेपछि म धेरै बिरामी भएँ र बेहोस नै भएँ । मैले साँच्चै धेरै पानी पिएँ, जसले गर्दा शरीरबाट सबै नुन र पोषक तत्त्व गुमाएँ । यी तत्त्वहरू शरीर र दिमागको सञ्चालनको लागि अत्यावश्यक हुन्छन् ।” 

उनी तीन दिन आइसियूमा रहिन् । दौडको समयमा उनका पतिले बनाएको भिडियोमा उनी फिनिस लाइन नाघ्दै गरेको देखिन्छ । तर, जोहानालाई यो कुरा सम्झना छैन ।

जोहानालाई भएको यो घटनाले शरीरले आफ्नो क्षमता र आवश्यकताभन्दा बढी तरल पदार्थ लिँदा के हुन्छ भन्ने स्पष्ट पार्छ । 

तरल पदार्थ रक्त प्रवाहमा छिटो अवशोषित हुन्छन् । यि अवशोषित अतिरिक्त तरल पदार्थलाई मिर्गौलाले फिल्टर गर्छ र पिसाब बनाउँछ । तर, मानिसको मिर्गौलाले प्रतिघण्टा केवल एक लिटर मात्र तरल पदार्थ प्रसोधन गर्न सक्छ ।

युरोपेली ‘फुड सेफ्टी ओरिटी’ले महिलाहरूलाई प्रतिदिन दुई लिटर र पुरुषहरूलाई २.५ लिटर पानी पिउनुपर्ने बताएको छ । यसमा केवल पिएको पानी मात्र नभएर भोजनसहित सबै स्रोतबाट शरीरमा जाने पानी पनि समावेश हुन्छ ।

फलफूल, तरकारी, भातजस्ता धेरैजसो खाद्य पदार्थलगायत सुक्खा मेवामा समेत पानी हुन्छ । उदाहरणका लागि खरबुजामा करिब ९२ प्रतिशत पानी हुन्छ ।

तर, यो सल्लाह सबैका लागि एकै किसिमको होइन । स्कटल्यान्डको एबरडिन विश्वविद्यालयका प्रोफेसर जोन स्पिकम्यान विश्वभर भइरहेको एक अध्ययनको पात्र थिए । यसमा २३ देशका पाँच हजारभन्दा बढी मानिसको पानी सेवनको अध्ययन गरिएको थियो । 

प्रोफेसर स्पिकम्यान भन्छन्, “२० देखि ६० वर्ष उमेर समूहका पुरुषलाई सम्भवतः दैनिक करिब १.८ लिटर पानी आवश्यक पर्छ । त्यही उमेर समूहका महिलालाई १.५ देखि १.६ लिटर पानी आवश्यक पर्छ । जब तपाईं करिब ८५ वर्षको हुनुहुन्छ भने तपाईंलाई दैनिक केवल एक लिटर पानी आवश्यक पर्छ ।”

तर, कसैलाई कति पानी आवश्यक पर्छ भन्ने कुरा शरीरको तौल, शारीरिक गतिविधि, उमेर, लिंग र वातावरणीय अवस्थाजस्ता विभिन्न कुरामा भर पर्छ । 

उनी भन्छन्, “यदि तपाईं कुनै तातो र आद्र्रता उच्च भएको स्थानमा बस्नुहुन्छ भने तपाईंलाई चिसो र सुक्खा ठाउँमा बस्ने मानिसको तुलनामा धेरै पानी आवश्यक पर्छ ।”

तिर्खा शरीरको प्राकृतिक संकेत हो यसले शरीरलाई अझै पानी चाहिएको छ भन्ने जनाउँछ  । पिसाबको रंगले पनि शरीरमा पानीको मात्रा कति छ भन्ने राम्रो संकेत दिन्छ । हल्का पहेँलो पिसाबको रंगले शरीरमा पर्याप्त पानी रहेको जनाउँछ । गाढा पहेँलो रंगले पानीको कमी रहेको संकेत गर्छ । 

यदि, कसैलाई बान्ता वा पखाला भइरहेको छ भने त्यस अवस्थामा शरीरले धेरै तरल पदार्थ आवश्यक पर्छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro