
काठमाडौं । तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’को प्रदर्शन तय भएको छ । ‘पहाड’ कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ ।
‘पहाड’ले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गर्नेछ ।
गोरखामा ३६ दिन छायांकन भएको चलचित्रको बाँकी छायांकन मुम्बईमा हुनेछ ।
‘बलिदान’पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’पछि सुनील थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा आउनेमा ढुक्क छन् ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले खिचिरहेका छन् ।
चलचित्रमा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ ।
निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे यही चलचित्रदेखि नेपाली सिने उद्योगमा डेब्यु गर्दैछिन् ।