
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै सुखद् सुरुआत गरेको छ ।
मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाहुना टोली यूएईलाई डीएल मेथडअनुसार पाँच रनले हराएको हो । यससँगै नेपालले टेस्ट राष्ट्र अफगानिस्तान, यूएई, ओमान र हङकङ सम्मिलित यू–१९ विश्वकप एसिया छनोटमा सुखद् सुरुआत गरेको छ । छनोटको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने विश्वकप खेल्नेछ ।
अघिल्लो संस्करणको छनोटमा विजेता बन्दै नेपालले विश्वकप खेलेको थियो । यसपल्ट पनि नेपालले सुखद् सुरुआत गरेको छ । अफगानिस्तानले पनि आइतबार नै ओमानमाथि आठ विकेटको जित निकाल्दै सुखद् सुरुआत गरेको छ ।
नेपाल र यूएईबीचको खेलमा मैदानमा हिलो भएपछि टस गर्न ढिलाइ हुँदा ४० ओभरमा छोट्याएको थियो । कप्तान नरेन भट्टको अर्धशतकप्रेरित नेपालले २०१ रनको लक्ष्य दिएको थियो । जवाफी लक्ष्य पछ्याएको यूएई ३६औँ ओभरमा १७१/७ को अवस्थामा हुँदा खेलमा वर्षा भयो ।
त्यसपछि खेलका अम्पायरले खराब प्रकाशका कारण थप खेल हुन नसक्ने निर्णय दिन लागेका थिए । तर यूएईका खेलाडीले विरोध जनाएपछि लामो समय पर्खाइपछि मात्र अम्पायरले खराब प्रकाशका कारण खेल हुन नसक्ने निर्णय दिए र नेपालले साँघुरो अन्तरले जित निकाल्यो । त्योभन्दा केही ओभरदेखि नै नेपाल र यूएईबीच डिएल मेथडअनुरूप अगाडि रहन प्रतिस्पर्धा चलिरहेको थियो । अन्तत् त्यसमा नेपालले सफलता पाएको हो ।
यूएईका यायिन किरण राईले अविजित शतक प्रहार गरे पनि वर्षा बाधक हुँदा आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । उनी र उदीश सुरी क्रिजमा थिए । यूएईलाई अन्तिम २४ बलमा ३० रन आवश्यक थियो । पूरै ओभर हुँदा उत्कृष्ट ब्याटिङ गरिरहेका किरण नेपालका लागि घातक हुन सक्थे । तीन मात्र विकेट रहेकाले नेपाली बलरले पनि खेल आफ्नो पक्षमा पार्न सक्ने अवस्था थियो । तर, खेल हुन सकेन । त्यसअघि नेपालले पहिलो ओभरमा नै यूएईका ओपनरद्वय आयन मिसबाह चार र अक्षत राईलाई शून्यमा आउट गर्दै राम्रो सुरुआत गरेको थियो । तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका किरणले धैर्यपूर्वक ब्याटिङ गर्दै इनिङ सम्हाले ।
किरणले चौथो विकेटका लागि मोहमद रायन खानसँग ७५ रनको साझेदारी गरे । रायन खान ५३ बलमा ३५ रन जोडेर आउट भए । त्यसपछि भने नेपाली बलरले अर्को छेउबाट विकेट लिँदै साझेदारी बन्न दिएनन् । करण धिमानले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । तर, किरण राईले ९६ बलमा आठ चौका र पाँच छक्का हिर्काउँदै शतकीय इनिङ खेले । नेपालको बलिङमा सन्तोष यादव र अशोक धामीले समान दुई विकेट लिँदा अभिशेक तिवारी र नरेन भट्टको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो ।
नेपालका लागि नरेनले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ७५ बलमा सात चौका हिर्काए । दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाए । यूएईको बलिङमा युदिश सुरीले तीन, युग शर्मा र शलोम डी सुजाले समान दुई तथा अली अस्घर शम्स र करण धिमनले समान एक विकेट लिए । नेपालले दोस्रो खेल ओमानसँग सोमबार नै खेल्नेछ ।