
काठमाडौं । हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।
हङकङको मोङ कोकमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।
कुवेतले बलियो सुरुआत गरे पनि त्यसअनुसार मध्यक्रमका ब्याटरले इनिङ सम्हाल्न नसक्दा विशाल योगफल बनाउन सकेन ।
कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ४.२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुआत दिलाएका थिए ।
कुनै समय ११.५ ओभरमा तीन विकेट गुमाएर १२७ रन बनाएको कुवेतले आशातित फिनिसिङ भने पाउन सकेन ।
उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए ।
नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए । यस्तै, कुशल भुर्तेल र करण केसीले समान एक विकेट हात पारे ।
प्रतियोगितामा नेपाली टिम अपराजित छ । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । समान खेलबाट चार अंक जोडेको कुवेत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।
यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।