
काठमाडौं । गएको कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम थालियो । ६ महिनाअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थल स्तरोन्नति हुने सूचना जारी गरी ३० प्रतिशत उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा)तर्फ पठायो ।
काठमाडौंको ३० प्रतिशत ‘ट्राफिक’ भैरहवा जान क्यानले ‘सर्कुलर’ जारी गरेको थियो । तर, क्यानले भनेजस्तो विमान कम्पनी भैरहवा गएनन् ।
कात्तिकयता चार अन्तर्राष्ट्रिय विमान कम्पनी र नेपाल वायुसेवा निगमले भैरहवा उडान गरे । तिनले एक महिना मात्र उडान गरे । त्यसपछि भिजिबिलिटीको कारण देखाउँदै उडान रोके । आरएनपीएआर जडानपछि त्यहाँ केही समय उडान गरेका कम्पनी चैत १९ देखि काठमाडौं विमानस्थल १८ घण्टा खुलाइएपछि पुनः यतै फर्किए ।
समग्रमा हेर्दा भैरहवातर्फ विमान कम्पनी जान नचाहेको देखिन्छ । तर, क्यानका कर्मचारी त्यहाँ दीर्घकालीन उडान नहुनुमा उड्डयन प्राधिकरणकै ‘दुई टाउका’बीचको लडाइँ कारण रहेको बताउँछन् ।
अर्थात्, क्यानका महानिर्देशक प्रदीप अधिकारी र भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीबीचको टकराबको असर एयरपोर्टमा देखिएको हो । दुई कर्मचारीबीचको टकराब पनि अनौठो छ । उडानको ‘क्रेडिट’ कसले लिने भनेर ‘दुई टाउका’बीच टकराबको मुख्य कारण बनेको भैरहवा र काठमाडौंका कर्मचारी बताउँछन् ।
“भैरहवामा उडान भयो भने त यो सबैलाई राम्रो हुने हो नि ! तर, कसले क्रेडिट लिने भनी लाग्दा विमानस्थल नै शून्य भयो,” भैरहवा विमानस्थलका एक कर्मचारीले भने, “एक पक्षले चित्त सानो बनाउँदा समग्रलाई असर पारेको छ ।”
भैरहवामा कात्तिकबाट उडान हुँदा तिवारीले सञ्चालनको ‘क्रेडिट’ लिन खोजेपछि अधिकारीले चित्त दुखाएको क्यानकै एक कर्मचारी बताउँछन् ।
स्रोतका अनुसार, भैरहवामा यात्रु उडान र अवतरण तथ्यांक महाप्रबन्धक तिवारीले फेसबुकमा सार्वजनिक गर्ने गरेका थिए ।
तिवारीले गरेको पोस्टमा अधिकारीलाई कुनै ‘क्रेडिट’ नदिएको भनेर समेत आफूनिकटसँग उनले चित्त दुखाइ गर्ने गरेका स्रोतको दाबी छ । “अधिकारीले भैरहवा विमानस्थल चलाउन निकै कोसिस गरेका र उडान सुरु भएपछि तिवारीले आफूले लागेशक्ति गरेका कारण उडान सफल हुँदै गएको क्रेडिट लिए,” एक कर्मचारीले भने ।
विमानस्थलका निम्ति लागिपरेको अवस्थामा ‘क्रेडिट’ नदिएपछि अधिकारीले पनि भैरहवातर्फको उडानमा चासो देखाएनन् । “जजिरा र फ्लाई दुबई उडानमा तयार रहे पनि टकराबले सेड्युल दिएनन्,” एक कर्मचारीले भने, “एउटा हठी कर्मचारीका कारण विमानस्थल शून्य भयो, यो देशकै लागि घाटा हो ।”
‘विन्टर सेड्युल’मा उडान गरेका जजिरा, फ्लाई दुबईजस्ता कम्पनीले यात्रु पाउँदा पाउँदै पनि त्यसलाई निरन्तरता नदिएपछि भैरहवाका व्यवसायीले अधिकारीको राजीनामा मागेका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवा विमानस्थल नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलनको तयारी समेत गरेका छन् ।
महाप्रबन्धक तिवारीका अनुसार, नोभेम्बरदेखि मार्चसम्म २३ हजार २४४ यात्रुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका थिए । नोभेम्बरमा चार हजार ७९, डिसेम्बरमा तीन हजार ७८, जनवरीमा एक हजार ३०५, फेब्रुअरीमा ६ हजार ७४८ र मार्चमा सात हजार ३४ यात्रुले भैरहवामा उडान र अवतरण गरेका थिए ।
यात्रु हुँदा हुँदै पनि क्यानले भैरहवाका निम्ति ‘स्लट’ नछुट्ट्याएको तिवारीको आरोप छ । “एयरलायन्सले यात्रुहरू त पाएकै थिए, तर समर सेड्युलका लागि क्यानले स्लट नै राखेन,” उनले भने ।
क्यानले भने भैरहवातर्फ कुनै कम्पनीले उडान गर्ने इच्छा नदेखाएको जनाएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, ‘समर सेड्युल’का निम्ति कुनै पनि एयरलायन्सले भैरहवामा उडान गर्न चाहेनन् ।
“भैरहवा कुनै पनि एयरलायन्सले जाने इच्छा देखाएनन्, हामीले कति फोर्स गर्ने ?,” उनले प्रश्न गरे, “हामीले सकेजति प्रयास गरेका हौँ । तर, उनीहरू तयार भएनन् । समरका लागि कुनै पनि अन्तर्राष्ट्रिय विमान कम्पनीले भैरहवा जाने सेड्युल पठाएनन् ।’’
कात्तिक २३ देखि चैत १८ सम्म त्रिभुवन विमानस्थल राति १० घण्टा बन्द गरी स्तरोन्नति गरिने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन सञ्चालनको कार्ययोजना ल्याएको थियो । साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरिएको थियो ।
त्रिभुवन विमानस्थल राति १० घण्टा बन्द हुने भएपछि भैरहवा र पोखरातर्फ ‘ट्राफिक डाइर्भट’ गर्न कार्ययोजना ल्याइएको थियो । तर, श्रम, म्यानपावर, पयर्टन व्यवसायीको कार्यालय, भिसा सेन्टर स्थापना नहुँदा यात्रु काठमाडौं नै धाउनुपर्ने बाध्यताले दीर्घकालीन सञ्चालनमा समस्या देखिएको भैरहवा विमानस्थलका प्रवक्ता श्यामकिशोर साह बताउँछन् ।
“कार्ययोजना पूरा नहुनु त एउटा समस्या थियो नै,” उनले भने, “यात्रु पाइरहेका एयरलायन्सले पनि समर सेड्युल थप गरेनन् ।”
क्यान र पर्यटन मन्त्रालयले कार्ययोजना पूरा गरे पनि अरूले त्यति चासो नदेखाएको उनले बताए । “क्यानले गर्नुपर्ने काम सबै गर्यो, अन्य मन्त्रालयले त्यति चासो देखाएनन्,” उनले भने, “श्रम गर्न काठमाडौं, म्यानपावर खोज्न काठमाडौं, भिसा लिन काठमाडौं जानुपर्ने कार्यले अकुपेन्सी घट्यो । ट्राभल एजेन्सी, म्यानपावर, एजुकेसन कन्सलटेन्सी भैरहवा आए विमानस्थल सञ्चालन हुन समस्या पर्दैन ।”
यही चैत १९ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः १८ घण्टा नियमित सञ्चालनमा ल्याइएको छ । एयरपोर्ट १८ घण्टा सञ्चालनसँगै ११ उडान थपिएको विमानस्थल कार्यालयले जनाएको छ ।
थपिएका ११ सहित काठमाडौंमा ५५ अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरिरहेका छन् । भैरहवातर्फ भने नेपाल वायुसेवा निगमबाहेक अन्तर्राष्ट्रिय विमान कम्पनी शून्य भएको छ ।
महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनानुसार, गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । उक्त विमानस्थल निर्माण गर्न ३० अर्ब ९१ करोड रुपैयाँ सुरुआती लागत तोकिएको थियो । तर, लागत बढेर ३५ अर्ब ६६ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
गौतमबुद्ध विमानस्थल निर्माण गर्न सरकारले एसियाली विकास बैंक (एडीबी) र ओपेक कोषबाट सहुलियतपूर्ण ऋण र अनुदान गरी चार अर्ब ९१ करोड लिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास भए पनि ‘डोमेस्टिक’ उडान मात्र हुँदा सञ्चालन खर्च र ऋण तिर्न सरकारकै ढुकुटी प्रयोग भइरहेको छ ।