
काठमाडौं । पर्साको वीरगन्जमा देखिएको तनाव व्यवस्थापन गर्न राजनीतिक दलको सर्वदलीय बैठक बोलाइएको छ । जिल्लामा उपलब्ध दलका नेताहरू बैठकमा सहभागी हुनेछन् ।
सर्वदलीय बैठकले कर्फ्यु मध्याह्न १२ बजेपछि हटाउने अथवा थप्ने निर्णय गर्नेछ ।
“दलको सर्वदलीय बैठक र सुरक्षा समितिको बैठक बोलाएको छु,” पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाह्रखरीसँग भने, “सर्वदलीय बैठक र सुरक्षा समितिको बैठक बसेर कर्फ्युलाई निरन्तरता दिने अथवा हटाउने निर्णय गर्नेछौँ ।”
अहिले अवस्था सामान्य रहेको उनले बताए । हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।
झडपले वीरगन्ज क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार र हवाईफायर समेत गरेको थियो ।
झडपमा ३७ जना घाइते भएका थिए । “प्रहरीतर्फ २५ र १२ सर्वसाधारण घाइते हुनुभएको थियो,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “प्रहरीतर्फ एसपी गौतम मिश्रसहित २५ जना घाइते हुनुभएको थियो । घाइते सबैको अवस्था सामान्य छ ।”
एसपी मिश्र उपचारपछि काममा फर्किसकेका छन् ।