
काठमाडौं । राजस्थान रोयल्सविरुद्ध ५८ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न खेलमा गुजरातले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १९.२ ओभरमा १५९ रनमै समेटियो ।
राजस्थानका सिम्रन हेटमायरले ३२ बलमा ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान सञ्जु सामसनले ४१ र रियान परागले २६ रन थपे । यसबाहेक, राजस्थानका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
राजस्थानलाई सस्तैमा रोक्न गुजरातका प्रसिद्द कृष्णाले तीन विकेट लिए । राशिद खानले दुई विकेट लिँदा मोहम्मद सिराज, अर्शद खान र कुलवन्त खेजरोलियाले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेको थियो ।
गुजरातका लागि साईले ५३ बलमा आठ चौका र तीन छक्कासहित सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी जोस बटलर र शाहरुख खानले समान ३६ रन बनाए । राहुल तेवाटियाले अविजित २४ तथा राशिद खानले १२ रन बनाए ।
राजस्थानका लागि महेश तिक्क्षणा र तुषार देशपाण्डेले समान दुई विकेट लिए । यस्तै, सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।