
काठमाडौं । वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीति) ३.७५ प्रतिशत रहेको छ । गत वर्षको समीक्षा अवधिमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । चालु आर्थिक वर्षमा सरकारले मूल्यवृद्धिलाई साढे पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।
मूल्यवृद्धि समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.९५ र ४.०७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशत बढेको छ ।
यस्तै, मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७, तरकारीको १.२४ र माछा तथा मासुको ०.७४ प्रतिशत घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाँक १०.१४, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र यातायातको ५.०७ प्रतिशत बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.१८ प्रतिशत बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६० प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८, मधेसको ३.५२, वाग्मतीको २.९८, गण्डकीको २.७७, लुम्बिनीको ३.७७, कर्णालीको ३.८० र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, तराईको ३.७७, पहाडको ३.७२ र हिमालको ४.७७ प्रतिशत रहेको छ । फागुनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत थियो । निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशत बढेको छ ।