site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनिटरी प्याड खरिद गर्दा ५१ लाख ९९ हजार अनियमितता, पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हालप्रसाद वर्णवाल समेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ५१ लाख ९९ हजार १२० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर देवी फर्मा हेटौँडा तथा उक्त फर्माका प्रोपाइटर विमलेश शाह छन् ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ५१ लाख ९९ हजार १२० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

कलैया उपमहानगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले मिलोमतोमा आर्थिक वर्ष २०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी आर्थिक अनियमितता गरेको पाइएको थियो ।

सेनिटरी प्याडको अस्वभाविक मूल्य प्रतिप्याकेट ७९.१ रुपैयाँ कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको, आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेस गरी प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएको पाइएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाँका दरले ९६ हजार २८० प्याकेटमा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्