-1744105397.jpg)
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा होमिएका शिक्षकहरू बालबच्चा लिएरै सडकमा आइपुगेका छन् ।
काठमाडौंकेन्द्रित आन्दोलनको छैटौँ दिन मंगलबार उनीहरू आफ्ना बालबच्चा लिएरै आन्दोलनमा सहभागी भएका देखिए ।
शैक्षिक सत्र सकिएर अधिकांश विद्यालय बिदा रहेका बेला घरमा हेर्ने मान्छे नभएकाले लिएरै आएको उनीहरूले बताए । कतिपयले यही मौकामा आफ्ना छोराछोरीलाई काठमाडौं घुम्ने तथा ‘सोसियल’ हुने भन्दै लिएर आएको समेत बताए ।
यसरी आउनेमा काठमाडौं उपत्यकाका मात्र होइन, धादिङ, नुवाकोट, काभ्रेसहित अन्य प्रदेशका शिक्षक समेत छन् । शिक्षा ऐन जारी नभएसम्म सडक नछाड्ने अडान लिएका उनीहरूले मंगलबार टर्च बालेर सरकारलाई खोजेको भन्दै सांकेतिक प्रदर्शन गरेका थिए ।
गीत संगीत, कविता, व्यंग्य तथा विभिन्न रचनात्मक कार्यक्रम गरेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । संसद् अधिवेशन नचलेका बेला अध्यादेश वा विशेष अधिवेशनमार्फत भए पनि शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको अडान छ ।
विद्यालय शिक्षा विधेयक अहिले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलको चरणमा छ ।
तस्बिरहरू