
काठमाडौं । इजरायली सेनाले गत महिना दक्षिणी गाजामा आफ्ना सैनिकहरूबाट भूलवस १५ प्यालेस्टिनी चिकित्सक तथा आपतकालीन उद्धारकर्ताहरूको हत्या भएको स्वीकार गरेको छ ।
बीबीसीका अनुसार मार्चमा २३ प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको कार र दमकलमाथि रफाह सहरनजिकै गोली चलाइएको थियो । आक्रमणमा १५ प्यालेस्टिनी चिकित्सक तथा आपतकालीन उद्धारकर्ताहरूको ज्यान गएको थियो ।
इजरायलले सुरुमा अँध्यारोमा हेडलाइट वा फ्ल्यास लाइट नबाली शंकास्पद रूपमा इजरायली सैनिक क्षेत्रमा प्रवेश गरेकाले गोली चलाएको दाबी गरेको थियो । साथै, ती वाहनहरू सञ्चालन गर्दा इजरायली सेनासँग समन्वय नगरेको पनि बताएको थियो । तर, मारिएका चिकित्सकमध्ये एकजनाको मोबाइल फोनमा रेकर्ड गरेको भिडियोमा वाहनहरू लाइट बालेर गएको देखिएको छ ।
यसअघि आइतबार संयुक्त राष्ट्रसंघ (यूएन)ले इजरायली सेनाले १५ प्यालेस्टिनी चिकित्सक तथा आपतकालीन उद्धारकर्ताहरूलाई दक्षिणी गाजामा गोली हानेर हत्या गरेको बताएको थियो ।