site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा करिब पाँच अर्ब ३४ करोड मुनाफा जम्मा
Tiktok banner adTiktok banner ad

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । कोषका सञ्चयकर्ताहरूको खातामा करिब पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब ६ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।

कर्मचारी सञ्चय कोष सञ्चालक समितिको यही चैत १७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा १.१० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याई वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालु आर्थिक वर्षमा सञ्चित रकममा ५.५० प्रतिशतका दरले ब्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताहरूले कोषबाट ६.६० प्रतिशत ब्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।

यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ५.५० प्रतिशत ब्याजदरमा मुनाफा १.१० प्रतिशत समेत जोड्दा जम्मा ६.६० प्रतिशत हुने र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने ब्याज समान रहन गएको छ ।

यसैगरी, हाल अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा समेत सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई सञ्चित रकममा ब्याज र मुनाफा समेत गरी वार्षिक ६.६० प्रतिशतका दरले प्रतिफल प्रदान गर्न सकिएको छ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ ।

साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।

यसअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा सुत्केरी तथा शिशु स्याहार सुविधाबापत १९ हजार ५२५ जना सञ्चयकर्तालाई करिब रू. १४ करोड ६५ लाख, काजकिरिया अनुदानबापत ७०६ जनालाई करिब दुई करोड ८२ लाख, दुर्घटना क्षतिपूर्तिबापत १०७ जनालाई करिब रू. २ करोड १४ लाख, स्वास्थ्य उपचार सोधभर्नाबापत ५ हजार ७३६ जनालाई ३४ करोड ६५ लाख रुपैयाँ र विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका ४७ जना सञ्चयकर्तालाई करिब रू. ७० लाख प्रदान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro