
काठमाडौं । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्यो । तर, कोरोना महामारीले गर्दा भ्रमण वर्ष रद्द भयो ।
सरकाले फेरि सन् २०२४ देखि २०३४ सम्म ‘भ्रमण दशक’ घोषणा गरेको छ । यसबीचमा सरकारले होटेललाई कर छुटको पनि घोषणा गरेको छ ।
सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने योजना ल्याएका बेला अर्बौं रुपैयाँ लगानीमा निजी क्षेत्रबाट पाँचतारेस्तरका चेन होटेल खोल्नेक्रम बढेको छ । ठूला सहर तथा पर्यटकीय गन्तव्यमा निजी लगानीमा पाँचतारे होटेल खोल्नेक्रम बढेको हो ।
निजी क्षेत्रको गुड कर्मा अफ कम्पनीज्ले पनि चार अर्ब दुई करोड रुपैयाँ लगानीमा काठमाडौंको महाराजगन्जमा पाँचतारे ‘ले मेरिडियन’ होटेल ल्याउन लागेको छ । होटेल निर्माणको काम प्रारम्भिक चरणमा रहेको विकासकर्ता कम्पनी कर्मा हस्पिटालिटी प्राइभेट लिमिटेडले जनाएको छ ।
प्रस्तावित होटेलमा १७० कोठा हुनेछन् । होटेलको व्यवस्थापन लक्जरी होटेल म्यानेजमेन्ट (बीभीआई) लिमिटेडले सम्हाल्ने सम्झौता भएको कर्मा हस्पिटालिटीले जनाएको छ ।
प्रस्तावित होटेल ‘ले मेरिडियन’ ब्रान्डमा सञ्चालन हुनेछ । यो ब्रान्ड मेरियटको नयाँ ‘फ्रेन्चाइजी’ हो । होटेल पूर्वाधार बनाउन कर्मा हस्पिटालिटीले जग्गा खरिदको काम आंशिक सकिएको जनाएको छ ।
होटेल बनाउन ७३ प्रतिशत बैंकको ऋण र बाँकी २७ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको कर्मा हस्पिटालिटीले जनाएको छ । ऋण लिन र स्वपुँजीको आधा लगानी हुन बाँकी छ । लगानी जुटाउन बाँकी रहेकाले निर्धारित समयमा होटेल परियोजना सम्पन्न नहुने सम्भावना रहन्छ । र, लागत बढाउने जोखिम देखिएको छ ।
कर्मा हस्पिटालिटीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ । हाल उक्त होटेल तथा अपार्टमेन्टको कन्सेप्ट र डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ । भारतमा मेरियट होलेटहरूको डिजाइन र कन्सेप्टमा काम गरिसकेको नायक एन्ड एसोसिएट्सले डिजाइन तयार गरेको हो ।
प्रस्तावित मेरिडियन होटेलमा १७० रुमसँगै एउटा क्यासिनो, बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र बैंक्वेट हल हुनेछन् । गुड कर्माको एकल लगानी र सञ्चालनमा निर्माण हुन लागेको होटेल र अपार्टमेन्ट परियोजनामा ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । होटेलतर्फ चार अर्ब र अपार्टमेन्टमा एक अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान छ ।
मेरियटको फ्रेन्चाइजी अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटेल ले मेरिडियनसँगै रहने उक्त अपार्टमेन्ट लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट हुने र यसको प्रतियुनिट तीनदेखि पाँच करोड रुपैयाँसम्म पर्ने बताइएको छ ।
ले मिरिडियन ब्रान्ड होटेलमा विदेशी पर्यटकको ठूलो आधार प्रदान गर्छ । होटेलका साथै कर्मा ग्रुपले महाराजगन्जमा लक्जरी अपार्टमेन्ट ‘कर्मा रेजिडेन्स’ बनाइरहेको छ । सन् २०२६ को पहिलो त्रैमासमा रेजिडेन्स निर्माण सकाएर हस्तान्तरण गर्ने लक्ष्य कम्पनीको छ ।
रेजिडेन्सीमा ६० प्रतिशत बैंक र बाँकी ४० प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ । निर्माणधीन अपार्टमेन्टका तीन विङस रहनेछन् । ‘ए’, ‘बी’ र ‘सी’ विङस हुनेछन् । त्यहाँ २.५ र ३.५ बीएचके अपार्टमेन्ट रहनेछन् ।
निर्माणधीन रेजिडेन्सी अमेरिका, साउदी अरेबिया र अस्ट्रेलियाको दूतावासभन्दा ३०० मिटर टाढाको दूरीमा रहनेछ ।
शिक्षा, ट्रेक कम्पनी टु दी हिमालयजको सफलतापछि गुड कर्मा लगानी विविधिकरण गरी दायरालाई नयाँ ढंगले विस्तार गर्न यो व्यवसायमा प्रवेश गरेको हो । कर्मा रेजिडेन्स २०२० मा र कर्मा हस्पिटालिटी २०२४ मा स्थापना भएको हो ।