
काठमाडौं । बलिङमा आश्वनी कुमार र ब्याटिङमा र्यान रिकेल्टन चम्किएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । सोमबार राति घरेलु मैदान वान्खडेमा मुम्बईले जारी सिजन पहिलो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो ।
कोलकाताले प्रस्तुत गरेको ११७ रनको सामान्य लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा र्यान रिकेल्टनले ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे ।
यस्तै, सुर्यकुमार यादवले नौ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । विल ज्याकले १६ र रोहित शर्माले १३ रन थपे ।
कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए ।
यसअघि, टस हारेर ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो । कोलकाताका कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।
अंगकृष रधुवंशीले सर्वाधिक २६ रन जोडे । रमनदीप सिंहले २२, मनीष पाण्ड्याले १९, रिंकु सिंहले १७ र कप्तान अजिक्या राहाणेले ११ रन बनाए ।
मुम्बईका आश्वनी कुमारले तीन ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट हात पारे । आश्वनीले अजिक्या राहाणे, रिन्कु सिंह, मनीष पाण्ड्या र आन्द्रे रसेलको विकेट लिएका हुन् । दीपक चहारका नाममा दुई विकेट रह्यो ।
जितसँगै तीन खेलबाट दुई अंक जोडेको मुम्बई छैटौँ स्थानमा उक्लिएको छ । मुम्बई पहिलो खेलमा चेन्नईसँग चार विकेटले पराजित भएको थियो । मुम्बई दोस्रो खेलमा गुजरातसँग ३६ रनले हारेको थियो ।
कोलकाताको भने यो दोस्रो हार हो । तीन खेलबाट दुई अंकको कोलकाता तालिकाको पुछारमा छ । कोलकाता पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाताले राजस्थानलाई आठ विकेटले हराएको थियो ।