
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदा समेत सत्ताको दुरुपयोग गरेको बताएका छन् । सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको उल्लेख गरे ।व्यवस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उनको भनाइ छ । आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।
उनले भने, "राजालाई हामीले पटक पटक मौका दियौँ, अवसर दियौँ । उसले दुरुपयोग गर्यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ? त्यसैले अब राजा हामीलाई चाहिँदैन । म चाहीँ हिन्दुराष्ट्रको पक्षमा छु ।"
उनले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानुनी दायरामा ल्याउनुपर्ने बताए ।